Shittalpati
स्वस्थानी व्रतकथाको महिमा

यतिखेर श्रीस्वस्थानी व्रतकथाको मौसम चलेको छ । पौष शुक्ल पूणिर्मादेखि हातखुट्टाका नङ काटी ‘शुद्ध चित्त’ले हजारौं नेपाली महिला कठोर व्रत बसिरहेका छन् । प्रत्येकजसो एफएम रेडियो स्टेसनले समेत आफ्ना नियमित कार्यक्रमको समय कटौती गरेर यो ‘सिजन’मा स्वस्थानी व्रतकथा बजाइरहेका छन् । घर–घरमा स्वस्थानी माताको विधिपूर्वक पूजा–आराधना गरी एक महिना कथा वाचन गरी सुन्ने र सुनाउने गरिन्छ । हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत–पुजा गर्ने परम्परा रहिआएको छ । यस वर्षको स्वस्थानी व्रत बिहीबारदेखि सुरु भएको छ । नेपाली महिलाहरुले लिने व्रतभन्दा पनि अलि कठिन व्रतको रुपमा यसलाई लिइन्छ । थुप्रै धार्मिक र सामाजिक महत्व बोकेको यस स्वस्थानीको व्रत सत्य युगमा हिमालयकी छोरी पार्वतीले महादेव पति पाउ भनेर १ छाक खाएर निकै कस्टका साथ व्रत बसेको र व्रत पश्चात् आफ्नो मनोकामना पूरा भएको जनविश्वास पाइन्छ । साथै अर्काे सामाजिक पाटोलाई हेर्ने हो भने गोमा ब्राह्मणीको कथाले प्राचिन समयमा पनि बालबालिकाहरुका नराम्रा असरहरु प्रस्तुत गर्दै बालबालिका बारे जनतचेतना फैलाएको छ । यसले संसारको श्रृष्टी अनि शिव पार्वती सम्बन्धका कुराहरु मार्फत धेरै ठाउँमा नारी पुरुषबीचको लैङ्गिक समानताको वकालत पनि गरेको छ । स्वस्थानीको कथा सन्देशमूलक, निकै रोचक र आकर्षकमात्रै नभएर अनेकौँ देवीदेवताका लीलाहरुको रोमाञ्चक प्रसङ्गसमेत सुन्न पाइने भएकाले सबैलाई मन्त्रमुग्ध पार्ने गरेको पनि हो, जुन सुन्ने र सुनाउनेमाझ अत्यधिक लोकप्रियसमेत रहेको छ ।
वर्तमान सन्दर्भमा स्वस्थानीको व्रत र पूजा–आराधना असान्दर्भिक रहेको भन्दै व्यापक टीकाटिप्पणी र आलोचना पनि हुने गरेको पाइन्छ । विशेषगरी, महिलाहरुप्रति स्वस्थानी निकै असहिष्णु रहेको भनेर चर्चासमेत गरिएको छ । यद्यपि, त्यसरी हेर्नु एकाङ्गीजस्तो देखिन्छ । स्वस्थानी कथा पार्वतीले महादेव पति पाउन व्रत गरेकोसँग मात्रै सम्बन्धित रहेको छैन, यो त मानवमात्रले कहिल्यै अभिमान गर्न नहुने र कसैको अवहेलना गर्दा कुनै न कुनैरुपमा पाप फर्किनेजस्तो नैतिक शिक्षासँग पनि सम्बन्धित रहेको छ । कथामा आउने प्रमुख पात्रहरु चाहे दक्षप्रजापति हुन् या चन्द्रावती हुन्, उनीहरुको माध्यमबाट समाजलाई गतिलो पाठसमेत पढाइएको छ । यसर्थ स्वस्थानी व्रत कथाको महिमा अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

प्रकाशित मिति: शनिबार, माघ १३, २०८०  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update