Shittalpati
अन्तर्राष्ट्रिय साक्षरता दिवस र यसको सार्थकता

आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यो प्रत्येक वर्ष सेप्टेम्बर महिनाको ८ तारिखका दिन मनाइन्छ । यसलाई युनेस्कोले २६ अक्टोबर १९६६ मा युनेस्कोको महासभाको १४ औँ सत्रमा घोषणा गरेको थियो । सन् १९६७ मा पहिलो पटक यो दिवस मनाइएको थियो । यसको उद्देश्य व्यक्ति, समुदाय र समाजका लागि साक्षरताको महत्वलाई उजागर गर्नु हो ।

यो दिवस अन्तर्राष्ट्रिय रुपमा मनाइरहँदा विश्वका ६० मुलुकको साक्षरता प्रतिशत अझै पनि ९५ भन्दा तल रहेको पाइन्छ । यो अत्यन्त दुःखको कुरा हो । नेपालमा ९५ प्रतिशतभन्दा बढी साक्षरता भएका जिल्लालाई पूर्णसाक्षर घोषणा गरिँदै आएको छ । अहिले नेपालको साक्षर जनसंख्या ८१ प्रतिशत पुगेको दाबी गरिएको छ । विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयमा प्रवेश गराउन झण्डै सतप्रतिशत सफल भए पनि प्रौढहरूलाई साक्षर तुल्याउने कार्यमा सन्तोषजक प्रगति हुन सकेको छैन् । २०६५ सालमा सरकारले साक्षरता अभियान नै सञ्चालन गरेको थियो । यो निकै सकारात्मक पक्ष थियो तर त्यसबाट खासै उपलब्धि हासिल हुन सकेन । नेपालले पहिलो पटक सन् २००० मा थाइल्यान्डको जोम्टेनमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमै सन् २०१५ भित्रै मुलुकबाट निरक्षरता उन्मूलन गर्ने भनी लिखित प्रतिबद्धता गरेको थियो । तर पनि हरेक वर्ष कर्मकाण्डीजस्तो मात्रै देखिएकाले अभियानको प्रभावकारिताप्रति सरोकारवाला नै विश्वस्त हुन सकेका छैनन् ।

सरकारले सञ्चालन गरेको साक्षरता अभियानले साक्षरता प्रतिशत बढाउन केही सहज भएपनि निरक्षर उन्मूलनचाहिँ चुनौतीकै विषयका रुपमा देखापरेको छ । अहिले पनि पूर्णसाक्षर जिल्ला घोषणाको क्रम जारी छ तर, साक्षर जिल्ला घोषणाको दौडमा तथ्यांक बढाइएको, साक्षरता घोषणा गरिएअनुसारको सुधार गाउँमा नदेखिएका गुनासा पनि आइरहेकै छन् । सरकारको महत्वाकांक्षी घोषणालाई सार्थक बनाउनकै लागिमात्रै निरक्षरहरुलाई रातारात साक्षर बनाइनु विडम्बनाकै कुरा हो । सरकारले संख्यात्मक भन्दा पनि गुणात्मक पक्षलाई ध्यान दिएर साक्षर अभियानलाई निरन्तरता दिन सकेमा साक्षरता दिवस मनाउनुले सार्थकता प्राप्त गर्न सक्छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update