Shittalpati
युएईमा गायक बसन्त आउने भएपछि नेपालीहरु उत्साहित

युएई, चर्चित गायक तथा संगीतकार बसन्त थापा जनवरी २८ तारिकमा युुएईमा हुन लागेको सांस्कृतिक कार्यक्रममा भाग लिन आउने भएका छन् । गायक थापा युएई आउने थाहा भएपछि यहाँ रहेका नेपालीहरु  समेत हर्षित भएका छन् । आफ्नो माटो र मौलिक लयलाई सुरमा सुन्न आतुर रहेका युएईस्थित धेरै नेपालीहरुले देशबाहिर रहेर पनि थापाको लाईभ प्रस्तुती हेर्न पाउनु सौभाग्य भएको उनीहरुको भनाई छ ।

वर दुवैमा बस्दै आएका मनोज पाण्डेले गायक बसन्त आउने  कुराले आफु्हरु उत्साहित भएको बताए । उनले भने ‘उहाँको संगीत र स्वरको म बिग फ्यान हो, नेपाली कला तथा संगीत क्षेत्रको स्थापित ब्यक्तिसँगको लाईभ कार्यक्रम कलाप्रेमी सबैका लागि अवसर हो ।’ लोक दोहोरीमा थापाको पृथकता त छ नै कलाशिकल पनि सुन्न पाइने भएकाले थप उत्साहित भएको पाण्डेको भनाई छ ।

युएईस्थित वरदुवैमा बस्दै आएकी उषा पाण्डेले निजी काम छोडेरै भए पनि यो आईतबार दुःख भुलेर बसन्त थापासँग रमाउने बताईन् । ‘२८ तारिक पछिको आइतबार बसन्त जिसँग रमाउँछु भनेर त पाईदैन नि’ उलने भनिन, ‘हामी नेपालीहरुका दुःख कहानी कति छन् कति तर मौका पाएको बेला त रमाउनु पर्छ ।’ उषाले यो रमाईलो मात्रै नभएर नेपाली कला तथा संस्कृति र देशको माँया बुझ्ने अवसर पनि भएको बताइन् ।

गायक तथा संगीतकार बसन्त थापा पनि युएईस्थित नेपालीसँग रमाइलो गर्न आतुर रहेको बताएका छन् । ‘युएईमा झण्डै २ लाख ५० हजार नेपालीहरु हुनुहुन्छ, विदेश पुगेर पनि नेपालकै मेला महोत्सवमा प्रस्तुती दिए जस्तो लाग्छ होला’ गायक तथा संगीतकार थापाले भने, ‘एउटा कलाकारका लागि यो भन्दा खुशी के हुन सक्ला ? ।’ थापाले कार्यक्रममा नेपाली लोक दोहोरी गीतहरु मध्यकै सर्वोत्कष्ट सालको पातको टपरी हुने, खेतमा बोके झार, जाम सुस्तै, माँया हासेको, सयको गुन तिरौँला हजारैले, विदेशको पिआर छ, मुसुक्क हाँसन, अरे भैया सहित जुनको जुनेली लगायतका गित गाउने सञ्चारकर्मी नारायण न्यौपानेले बताए ।

स्तरीय तर कम मात्रै कार्यक्रममा सहभागीता जनाउने गायक तथा संगीतकार बसन्त थापाको युएईका लागि १० वर्ष पछिको सांगितिक यात्रा हो । यस अघि थापा सन् २०१३ मा युएई आएका थिए । नवलपरासीमा रहेका गरिव तथा असाहयको सहयोगार्थ नवलपरासी सेवा समाज युएईको आयोजनामा जनवरी २८ तारिकमा हुने कार्यक्रममा गायक तथा संगीतकार बसन्त थापा आउन लागेका हुन् । नेपालबाट आफ्नो प्रस्तुतीका लागि मोडल अञ्जली अधिकारी र लोकदोहारी गायिका शर्मिला अर्याल समेत आउने समाजका अध्यक्ष भुपराज डुम्रेले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, माघ १०, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update