Shittalpati
पहिलो पटक प्रदेश सांसद बनेका सारूको एक वर्ष

पाल्पा, पाल्पा क्षेत्र नं. १(२) का लुम्बिनी प्रदेश सभा सदस्य खेमबहादुर सारुले प्रदेश सभाको पहिलो एक वर्षे कार्यकाल बिताएका छन् । प्रत्यक्ष निर्वाचन जितेर पहिलो पटक २०७९ पौष १७ गते सांसदको सपथ ग्रहण गरेका सारुको पहिलो एक वर्ष सकिएको हो ।

एमालेबाट निर्वाचित सांसद सारुले एक वर्षमा भए गरेका काम, अनुभव, सिकाइसहितको वार्षिक प्रगति सचिवालयमार्फत सार्वजनिक गरेका छन् । प्रगति विवरणमार्फत उनले पहिलो एक वर्ष अनुभव, सिकाइसँगै उत्साहजनक रुपमा बितेको बताएका छन् । उनले ऐन कानुन निर्माणदेखि विकास निर्माणका योजनामा आफ्नो प्रयास उपलब्धिमूलक नै रहेको उल्लेख गरेका छन् । एक बर्षमा संसदीय अभ्यासको अनुभव, सिकाइ, केही ऐन, कानुन निर्माण र विकास योजनाका काम गरिएको वार्षिक प्रगतिमा उल्लेख छ । जनअपेक्षा अनुसार परिणाममुखी काम गर्न नसके पनि जनताका जल्दाबल्दा समस्याहरुलाई प्रदेश सभामा जोड तोडका साथ राखेको सांसद सारु भनाई छ । उनले भनेका छन् ‘संसदीय अभ्यासमा निकै कुरा सिक्न पाइएकाले पहिलो वर्षलाई आफूले सिकाई र अभ्यासको वर्षको रुपमा लिएको छु ।’ केही कामहरु गरेको र गर्ने प्रयासमा रहे पनि आफु त्यत्तिले सन्तुष्ट  हुने अवस्था नरहेको उनको भनाई छ ।

सांसद सारुले संसदीय काम, प्रदेश सभामा निर्वाचन क्षेत्रको विषयमा उठाएका विषय, विकास निर्माणका योजना, बैंठक सभा बारे वार्षिक प्रगति विवरणमा उल्लेख गरेका छन् । प्रदेश सभाको पहिलो र दोस्रो अधिवेशनमा उनी ३३ वटा बैंठकमा उपस्थित भएका छन् । पहिलो अधिवेशनमा १० वटा बैठक मध्ये १० वटैमा र दोस्रो अधिवेशनको २५ वटा बैठक मध्ये २३ वटामा उनी सहभागी भए । प्रदेश सभामा समसामयिक विषयमा विशेष समयमा ३ पटक सम्बोधन गरेका सांसद सारुले नीति तथा कार्यक्रम र वार्षिक ‘विनियोजन विधेयक’ गरी २ पटक सम्बोधन गरेका छन् । उनी लुम्बिनी प्रदेश सभाको अर्थ, उद्योग तथा पर्यटन समितिको बैठकमा उपस्थित भई औद्योगिक व्यवसाय सम्बन्धी विधेयक २०८० माथि दफावार छलफलमा ४ र प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०८० माथि संशोधनकर्ताको रुपमा प्रदेश मामिला तथा कानुन समितिद्वारा आयोजित छलफलमा २ वटा बैठकमा उपस्थित रहेको उल्लेख छ ।

एक वर्षको अवधिमा प्रदेश सभामा ४ वटा विधेयक र एक नियमावली पारित गर्दा आफ्नो उपस्थित रहेको बताइएको छ । यस्तै सांसद सारुले लुम्बिनी प्रदेश सरकारद्वारा आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम तथा बजेटमा  पाल्पा क्षेत्र नं. १(२) का लागि समावेश गर्न पहल गरेको उल्लेख गरिएको छ । उनले सडक पूर्वाधारतर्फ १९ वटा योजना, प्रदेश क्षेत्र विकास योजनातर्फ १८, खानेपानी तथा सरसफाई योजनातर्फ ३५, जलस्रोत तथा सिंचाईतर्फ १२, शहरी विकास तथा भवनतर्फ ५, पुल निर्माणमा ५, सामाजिक विकासतर्फ २, स्थानीय तह वित्तीय हस्तान्तरण (ससर्त)तर्फ २०, समपुरक अनुदानतर्फ १२, हुमिन –तांहु मोटरबाटो ( बहुवर्षीय ) तर्फ  १ वटा योजना पार्न पहल गरेको बताइएको छ । उक्त योजनाका लागि ४० करोड छुट्याइएको छ ।

यस्तै एक वर्षको अवधिमा सांसद सारुले प्रदेश सभाको बैंठकमा समसामयिक विषयमा विशेष समय तथा नीति तथा कार्यक्रममाथि छलफल र आफ्ना भनाई राखेको उल्लेख गरेका छन् । उनले लुम्बिनी प्रदेश गौरवको आयोजना रामपुर जिनाबॉङ सडक (जिवराज आश्रित कृष्णसेन इच्छुक मार्ग) अन्तर्गत पर्ने पाल्पा आर्यभन्ज्या·–रामपुर सडकको तत्काल स्तरोन्नती, तानसेन नगरपालिकाको बतासेडाँडा र तिनाउ गाउँपालिकाको नुवाकोटमा निर्माण भएको साँस्कृतिक डबलीको सञ्चालन र व्यवस्थापनको जिम्मेवारीमा हस्तान्तरण, व्यवस्थापन, जिल्लाको स्वास्थ्य बिमा कार्यक्रम ३ वटै अस्पतालमा नियमित लागु र सुचारु गर्न पहल, सिद्धबाबाको जोखिमयुक्त बाटोको विकल्पको रुपमा सिद्धार्थ राजमार्ग अन्तर्गत बाँसटारी–झडेवा–रहवास हुँदै नवलपरासीको (सुस्ता पूर्व) दुम्कीबासमा पूर्व पश्चिम राजमार्गमा जोडिने गरी नयाँ रुटको सडक निर्माण योजना अगाडि बढाउन पहल गरिएको उल्लेख छ । यस्तै संघीय शिक्षा ऐन तत्काल जारी गरी शिक्षासँग सम्बन्धित समस्याहरुको सम्वोधन गर्न, उच्च शिक्षा अध्ययनमा संस्थागत विद्यालयबाट अध्ययन गर्ने विद्यार्थीहरुलाई आरक्षित छात्रवृत्तिमा भएको विभेदपूर्ण नीति हटाउन तथा वैदेशिक अध्ययनमा जाने क्रमको विकल्प खोज्न लगायतका विषयमा छलफल र प्रयास गरेको पनि उल्लेख गरिएको छ ।

यस्तै पाल्पाको पर्यटन विकास प्रवद्धर्न गर्न खेल पर्यटनको माध्यमबाट समेत पर्यटन विकास गर्न नीति तथा कार्यक्रम ल्याउन, किसानहरुले व्यवसायिक रुपमा उत्पादन गरेका कृषि उपजको भण्डारण र बाजारीकरणको समस्या समाधान गर्न, पाल्पालाई ढाका र करुवा जस्ता हस्तकला उत्पादन सामग्रीको हब बनाउन, प्रदेश भरी एक घर : एक धाराको संकल्प पुरा गर्न आवश्यक करीब २६ अरब रकम विनियोजन गर्न, पाल्पा जिल्ला अस्पताललाई तत्काल भौतिक संरचना निर्माण र दरवन्दी अनुसार चिकित्सक व्यवस्था गर्न, परम्परागत र रैथाने खाद्य तथा पेय पदार्थ र मदिरा उत्पादनको नीतिगत व्यवधान हटाउन, माडीफाँट र बाँसटारी क्षेत्रमा धान खेत डुबानमा परेको तटबन्ध निर्माण र पीडित किसानहरुलाई राहत प्रदान गर्न ध्यानाकर्षण गराउने जस्ता काम गरेको सांसद सारुको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update