Shittalpati
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८  को सनाखत

दाङ( देउखुरी), दाङको भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति १० : ३० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो । 

५ जनाको उपचारका क्रममा मृत्यु भएको थियो भने ७ जनाको शव जेसिविको सहायताले बसबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । मृतक मध्ये ८ जनाको सनाखत भएको छ । मृत्यु हुनेमा बाँकेका ६० वर्षीय कुसुम बस्नेत, मकवानपुरका ३९ वर्षीय सौरभ विष्ट, काठमाडौं चन्द्रगिरीका ६५ वर्षीय ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका ३१ वर्षीय मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका ३० वर्षीय रामबरण हरिजन, रूकुमका २५ वर्षीय दीपक कामी र भारत विहारका ६७ वर्षीय जोगेन्द्र रामको सनाखत भएको प्रहरीले जनाएको छ ।  अन्य ४ जना मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा २३  जना भने घाइते रहेका छन् । घाइतेमध्ये केहीलाई बुटवल र नेपालगञ्ज तथा केहीलाई भालुवाङ अस्पतालमा उपचार जारी राखिएको छ । भालुबाङको ट्राफिक बिट पार गरेको केहीबेरमा बस पुलको दायाँतर्फबाट पुलको रेलिङ भत्काएर नदीमा खसेको थियो । घटना के कति कारणले भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: शनिबार, पुस २८, २०८०  ०८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update