Shittalpati
जहाँ विपद् त्यहाँ काँग्रेस

पाल्पा, नेपाली समाजमा कुनै बेला रिस उठ्यो भने, तेरो घरमा काँग्रेस पसोस् भन्ने चलन थियो, तर अहिले परिस्थिति बेग्लै छ । पार्टीभित्र नेताहरु गुट, उपगुट बनाएर अगाडि बढे पनि जनताको दुखमा भने सधैं एक हुन्छ । काँग्रेस लोकतान्त्रिक पार्टी भएकाले पनि जनताको सुखदुःखमा सधैं सारथी बन्ने गरेको छ । अहिले आपत विपदमा काँग्रेस गाउँ गएन भने कहिले काँग्रेस आउँछ र सबैको मुहार हंसिलो हुन्छ भन्ने वातावरण सिर्जना भएको छ । नहोस् पनि कसरी हरेक विपद्मा काँग्रेस नेताहरु अग्रमोर्चामै देखिन्छ । हालै जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अस्थायी टहरा निर्माणमा होस् वा कोरोना महामारीका बेला प्रताडित बनेका जनताहरु हुन् वा भूकम्प, बाढी, पहिरोबाट प्रभावित जनताको उद्दारमै किन नहोस् काँग्रेस एक भएको देखिन्छ । वडा तहदेखि केन्द्र तहसम्म नै काँग्रेसका नेताहरु जहाँ विपद् पर्छ त्यहाँ पुग्ने गरेका थुप्रै दृष्टान्तहरु छन् ।

पाल्पामा पनि काँग्रेसले पहिरो, आगालागी जस्ता विपद्बाट प्रभावित जनताको घरमै पुगेर दुखमा साथ दिने गरेको छ । उसले दुखमा सहानुभूतिसँगै सक्दो सहयोग समेत गर्ने गरेको छ । काँग्रेसले यही पुस ७ गते कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घरबार बिहिन भएका जिल्लाको निस्दी गाउँपालिका–३, क्याङरुङका श्यामबहादुर पल्लीको परिवारलाई आइतबार घरमै पुगेर खाद्यन्न र लत्ताकपडा सहयोग गरेको छ । नेपाली काँग्रेस पाल्पा क्षेत्र नं १ (क) ले आगलागी पिडित परिवारलाई ४० हजार बराबरको खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । उक्त खाद्यान्न र लत्ताकपडा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पीडित परिवारलाई हस्तान्तरण गरेका हुन् । राहत सामग्री वितरण गर्दै सभापति श्रेष्ठले दुखको बेलामा केही भएपनि राहत दिलाउन काँग्रेस पीडितको घरमा आएको बताए । उनले प्राकृतिक विपत्तिमा परेका जनताहरुसँगै नेपाली काँग्रेस पनि सँगै रहेकाले दुखमा नआत्तिन आगालागी पीडितलाई सान्त्वना दिएका छन् ।

काँग्रेसले सुरक्षित आवासका लागि सम्बन्धित निकायसँग समन्वय गरिदिने समेत सभापति श्रेष्ठले बताए । उनले केही दिन अघि जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पबाट प्रभावितहरुका लागि काँग्रेसले एकद्वार प्रणालीको माध्यमबाट ५० लाख राहत कोषमा रकम जम्मा गरेको र एक हजार भन्दा बढी अस्थायी टहरा निर्माणमा समेत सहयोग गरेको स्मरण गराउँदै काँग्रेस जनताको सुख दुखमा साथ दिने पार्टी भएको बताए । सभापति श्रेष्ठले भने ‘काँग्रेस मिसन ८४ मात्र लिएर हिड्ने पार्टी होइन्, गरिब जनताको लागि सधैँ मिसन बनाएर हिड्छ ।’ उनले घरमा दुख र पीडा पर्दा समेत काँग्रेसलाई सम्झिन सबैलाई आग्रह गरे । पार्टीका जिल्ला सभापति श्रेष्ठ सहित काँग्रेस नेताहरु राजेन्द्रगोपाल सिंह, शान्ति झेडी, अमिर राना, कृष्ण अधिकारी, श्यामकान्त खनाल, रामु राना लगायतको टोलीले घरमै पुगेर पिडित परिवारलाई खाद्यन्न, सुत्ने, ओढ्ने लत्ताकपडा सहयोग गरेको हो । पुस ७ गते शनिबार गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागी हुँदा घर गोठ  जल्नुको साथै ९ महिने बालिकाको ज्यान समेत गएको थियो । गोठमा रहेका बाख्रा, भैसी समेत जलेर मरे भने घरमा रहेका अन्न, लत्ताकपडा, भाँडाकुँडासहित सबै धनमाल जलेर नष्ट भएको थियो । घर जलेपछि उनीहरु अहिले त्रिपालमुनी बस्दै आएका छन् ।

यस्तै काँग्रेसले गत मंसिरमा  तिनाउ कचलका पहिरो पीडितलाई पनि राहत सहयोग गरेको थियो । नेपाली काँग्रेस तिनाउ गाउँपालिकाले गत साउनमा अविरल वर्षाका कारण गएको पहिरोले घर खेतमा क्षति पु¥याएका तिनाउ गाउँपालिका–१ कचलका परिवारलाई आवश्यक राहत सामग्री सहयोग गरेको हो । काँग्रेसका नेताहरु घरमै पुगेर यहाँका ५ घर परिवारलाई चामल, नुन तेल र सुत्ने, ओढ्ने लत्ताकपडा सहयोग गरेका थिए ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update