Shittalpati
पुस १६ देखि बुटवल–पाल्पा सडक दैनिक ६ घण्टा बन्द हुने

 पाल्पा, सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्ड दैनिक ६ घण्टा बन्द हुने भएको छ । निर्माणाधीन सुरुङ मार्गको कामलाई तीव्रता दिन उक्त सडक खण्ड यही पुस १६ गतेदेखि दैनिक ६ घण्टा बन्द हुने भएको हो । 

जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको राजमार्ग सुरक्षा समितिको बैठकको निर्णय अनुसार पुस १६ गतेदेखि एक सय दिनसम्म सवारी साधनको आउ–जाउ बन्द गरेर सुरुङमार्ग निर्माणको काम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिए । राति १० बजेदेखि बिहान ४ बजेसम्म  सवारी आवागमन बन्द गरेर काम गरिने उनले बताए । प्रमुख जिल्ला अधिकारी काफ्लेले भने‘ उक्त समयमा  यात्रुलाई कुनै पनि अफ्ठ्यारो नहुने गरी काम गर्न निर्माण व्यवसायीलाई भनेका छौं । ’ 
सुरुङ मार्ग निर्माणको दक्षिण र उत्तरतर्फको पोर्टल, बाइपास टेल एक र दुई र स्लोप क्षेत्रको कार्य गर्दा बाटो साँघुरो भएको कारण  निर्वाध रुपमा यातायात सञ्चालनकै अवस्थामा कार्य गर्न असहज भएकाले सपारी साधन आवतजावत बन्द गरेर काम गर्न लागिएको हो । 

‘निर्माण कार्य भइरहेको अवस्थामा ढुंगाहरु खस्ने, सवारी आवतजावतमा उच्च जोखिम हुने भएकाले मिति २०८०।०९।१६ गते सोमबारदेखि १०० दिन राति १० बजेदेखि बिहान ४ बजेसम्म लागू हुने गरी सवारी साधन आवतजावत बन्द गर्ने निर्णय गरियो’  समितिको निर्णयमा भनिएको छ । बुटवलको तल्लो सिद्धबाबादेखि पाल्पाको दोभान चौकीसम्मको करिब ३ किलोमिटर सडक क्षेत्र पहिरोका कारण जोखिमयुक्त भएकाले यहाँ सुरुङमार्ग बनाउने काम जारी छ । चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । 

प्रकाशित मिति: सोमबार, पुस ९, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update