Shittalpati
पाल्पाको लघुवामा टिपर दुर्घटना : एकको मृत्यु, दुई घाइते 

पाल्पा, जिल्लाको रिब्दीकोट गाउँपालिका–२, लघुवामा टिपर दुर्घटना भएको छ । गुल्मीबाट पाल्पातर्फ आउँदै गरेको रा १ ख २४०४ नम्बरको टिपर बिहीबार राति  दुर्घटना भएको हो । 

दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका–३ का अन्दाजी ३० वर्षीय विष्णु ढकाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका ढकाललाई उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल पठाइएकोमा  चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव  उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा घोराही उपमहानगरपालिका–१२, दाङका ३२ वर्षीय यमराज पुन र रोल्पा त्रिवेणी गाउँपालिका–५, का ३५ वर्षीय हिमाल घर्ती घाइते भएका छन् । घाइते दुवैको अवस्था गम्भीर रहेको छ । उनीहरुको मिसन अस्पतालमा उपचार भइरहेको छ ।
 दुर्घटनामा टिपर चालक घोराही उपमहानगरपालिका–१६, दाङका २६ वर्षीय अजय चौधरी सकुशल रहेको प्रहरीले जनाएको छ । टिपर अचानक आफैं ब्याक भई सडकबाट १ सय ५० मिटर तल खस्न  पुगेको प्रहरीको प्रराम्भिक अनुसन्धान रहेको छ । टिपर चालक र टिपर प्रहरी नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update