Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ को मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रुपन्देही, अर्घाखाँची, चितवन, मकवानपुर र कैलाली जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा ८ जनाको मृत्यु भएको हो ।

रूपन्देही ओमसतिया गाउँपालिका–४ बसन्तपुरमा कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । बा.प्र ०१२८ च ३५५६ नम्बरको कारको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका–४ पननिका ४५ वर्षीय रामदरस हरिजनको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै अर्घाखाँचीको सितगंगा नगरपलिका–८ सातमारामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ना.६ ख २७३९ नम्बरको गिट्टी लोड भएको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ का ३१ वर्षीय सञ्जय थारू र सह–चालक रूपन्देही सियारी गाउँपालिका–२ बगदर्रीकी २३ वर्षीय भोला कुर्मी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका सञ्जय थारूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र भोला कुर्मीको स्वास्थ्य चौकी भालुवाङ दाङमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । ट्रक करिब २० मिटर तल खस्न पुगेको थियो ।

यस्तै कैलालीको गोदावरी नगरपालिका–८ स्याउलेमा अटो दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।  सु.प.प्र. ०१ ००१ ह ३४८४ नम्बरको अटो दुर्घटना हुँदा चालक सोही नगरपालिका–९ सेहरीका ३५ वर्षीय चक्र सार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चितवनको माडी नगरपालिका–१ बरुवामा बोलेरोले मोटरसाइकलाई ठक्कर दिदाँ दुई जनाको मृत्यु भएको छ । लु.२ च २५०८ नम्बरको बोलेरोले बा.प्र०६–००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ठाउँका ३४ वर्षीय सूर्य अधिकारी  र मोटरसाइकलमा सवार सोही ठाउँका ३४ वर्षीय बेग खत्री रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको नयाँ मेडिकल कलेज भरतपुर र खत्रीको बघौडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा रिफर गरिएको छ । बलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी चितवनको खैरहनी नगरपालिका–१० सिदार्थ चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ना.३४ प ९९९६ नम्बरको मोटरसाइकल सडक छेउको विद्युतको पोलमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–२ का २५ वर्षीय मनिष भट्टराईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी समाचार कक्षले जनाएको छ  । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङमा बस र मोटरसाईकल एक –आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । बा.४ ख ८७७३ नम्बरको बस र बा.६५ प ४१७३ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१० का ३० वर्षीय मनोज गमालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार अर्का १ जना घाइतेलाई उपचारको लागि मनमोहन अस्पताल काठमाडौं पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै घटनाको विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८०  १७:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update