Shittalpati
नक्कली भुटानी शरणार्थी प्रकरण :  खाणको निवेदनमा मंसिर २८ मा सुनुवाइ

काठमाडौँ, उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणको निवेदनमाथि यही मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उक्त अदालतका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा यही मंसिर १५ गते राय बाँझी निर्णय सुनाएपछि उक्त विवादलाई तेस्रो न्यायाधीशसमक्ष पेश गरी सुनुवाइ गर्ने तय भएको थियो । 
न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर गरी  ३० लाख धरौटीमा छाड्ने राय दिएका थिए भने न्यायाधीश खरेलले धरौटीमा छाड्न नमिल्ने राय दिएका थिए । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईका अनुसार पूर्वमन्त्री खाणको मुद्दामा दुई न्यायाधीशको राय बाँझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार यही मंसिर २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको छ ।

अदालतले उक्त विवादमा नौ जना प्रतिवादीको हकमा थुनामा पठाउने काठमाडौँ जिल्ला अदालतको आदेशलाई सदर गरेको थियो भने छ जना प्रतिवादीको हकमा थुनामै राख्ने काठमाडौँ जिल्ला अदालतको आदेश बदर गरी धरौटी माग गर्ने आदेश दिएको थियो । त्यसैगरी, लक्ष्मी महर्जन, आशिष बुढाथोकी, टङ्ककुमार गुरुङ र केशव तुलाधरलाई साधारण तारेखमै थुनामुक्त गर्ने आदेश गरेको थियो ।– रासस
 

प्रकाशित मिति: बुधबार, मंसिर २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update