Shittalpati
तनहुँमा बस दुर्घटना : २ को मृत्यु, ३४ घाइते

पाल्पा, पृथ्वी राजमार्गअन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुवामा बस दुर्घटना भएको छ । धनकुटाबाट मुग्लिनहुँदै पोखरातर्फ जाँदै गरेको ग.१ ख ७८९५ नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा बसका सवार २ जनाको मृत्यु भएको छ भने चालकसहित ३४ जना घाइते भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । मृत्यु हुनेहरूमा धनकुटा सागुरीगढी गाउँपालिका–९ बस्ने ४५ वर्षीय हस्त राई र हालसम्म स्थायी ठेगाना नखुलेका अन्दाजी ५५ वर्षीय टोपबहादुर मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका राईको दमौलीस्थित रत्नहरी मेमोरियल अस्पताल र मगरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

अन्य घाइतेमध्ये ५ जनाको दमौली अस्पताल र १९ जनाको रत्नहरी मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ९ जनालाई थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल रिफर गरिएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको र १ जना उपचार पश्चात डिस्चार्ज भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । बस आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जनाइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update