Shittalpati
रैनादेवी छहरामा दही, चामल खाँदै सोरठी नाचेर सकियो न्वागी महोत्सव

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरी रैनादेवी मन्दिर परिसर गोखुङ्गामा दुई दिने न्वागी महोत्सव सकिएको छ । मेलामा नयाँ धान देवतालाई चढाउनुको साथै दही, चामल खाँदै लोपोन्मुख अवस्थामा रहेका मगरी, सोरठी, पञ्चेबाजा, भजन कृर्तन गरी न्वागी मेला सकिएको हो ।

महोत्सवको समापन लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ति मगरले पश्चिम पाल्पाको ठूूलो पर्वको रुपमा न्वागी पर्व रहेको बताए । न्वागी पर्व परम्परागत कला संस्कृतिको प्रदर्शन, जर्गेना, तथा स्थानीयतहमा मनोरञ्जन प्रदान गर्ने पर्व रहेको उनले बताए । पश्चिम पाल्पाको साथै गुल्मी र अर्घाखाँचीमा  रैनादेवीको ठूलो महिमा र आस्था रहेकाले दिनहुँ  धार्मिक पर्यटक तथा चहल पहल बढ्दै गएकाले यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न आफुले पहल गर्ने सभामुख घर्तिमगरले बताए । यस क्षेत्रको विस्तृत परियोजना बनाएर ल्याए बजेटको कमी हुन नदिने सभामुख घर्तिमगरले भुवनपोखरीवासीलाई विश्वास दिलाए । आफु भुवनपोखरी क्षेत्रको पनि जनप्रतिनिधी  भएकाले यस क्षेत्रको विकास निर्माण प्रथामिकता दिने सभामुख घर्तिमगरले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले न्वागी पर्व धार्मिक, साँस्कृतिक तथा पर्यटकीय विषयबस्तुसँग सम्बन्धित रहेको बताए । मन्दिर परिसरमा नाचिएको परम्परागत  मौलिक कला संस्कृतिले अझै पनि मौलिक संस्कृति जीवन्त रहेकोमा खुसी लागेको उनले बताए । यस्ता मौलिक कलासंस्कृति बचाउन वडा, स्थानीयतह, प्रदेश तथा केन्द्र सरकारबाट नितिगत रुपमा व्यवस्था गरिनुपर्नेमा समन्वय प्रमुख खनालले जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले रैनादेवी क्षेत्र विकास निर्माणदेखी पुननिर्माण सम्म गाउँपालिकाले प्राथमिकता दिएर काम गर्दै आएको बताए । रैनादेवीको नामबाट गाउँपालिकाको नाम रहेकाले रैनादेवीको मन्दिर निर्माणको काम पालिकाले गर्दै आएको बताए । रैनादेवीलाई यस क्षेत्रकै धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पालिकाले विस्तृत योजना बनाएर काम शुरु गरेको पालिका अध्यक्ष भट्टराईले बताए ।

न्वागी महोत्सवमा स्थानीय कला संस्कृतीलाई बचाउन, स्थानीय परम्परागत कलाकारहरुलाई उत्साहित बनाउन, एक पुस्ताबाट अर्काे पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न पालिकास्तरीय सोरठी नाच प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा ८ वटा सोरठी नाच प्रस्तुत भएकोमा वडा नंं २ कोकलधारा सोरठी नाच समुह प्रथम, वडा नंं १ सिद्देश्वर सोरठी नाच समुह द्धितिय, वडा नंं ३ भुवनपोखरी पेलावास सोरठी नाच समुह तृतिय र झिरवास सोरठी नाच समुह सान्तवना भएका छन् ।

विजयी टिमहरुलाई प्रदेश सभामुख तुलाराम घर्तिमगर, गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराई, उपाध्यक्ष युवराज थापा, वडा अध्यक्ष प्रदिप पौडेल, मन्दिर संरक्षण समितिका अध्यक्ष मिन बहादुर दर्लामीले नगर तथा प्रमाणपत्र वितरण गरे । प्रतियोगितामा सहभागी अन्य सोरठी समुहलाई नगद  ५ हजार प्रदान गरिएको थियो  । कार्यक्रममा न्वागी महोत्सव तथा सोरठी नाचले रैनादेवी भुवनपोखरी क्षेत्रको प्रचार प्रसार, आर्थिक चलायमान, विभिन्न किसिमको व्यापार व्यबसाय, संचालनमा ठुलो सहयोग पुगेको वडा अध्यक्ष प्रदिप पौडेलले बताए ।  रैनादेवी मन्दिरलाई धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास गर्न सबैको सहयोग जरुरी रहेको वडा अध्यक्ष पौडेलले बताए ।

पश्चिम पाल्पा, पुर्वी अर्घाखाची र दक्षिण गुल्मी क्षेत्रमा नयाँ धान रैनादेवीलाई चढाएर, देवीको पुजा पाठ गरी खाने प्रचलनलाई न्वागी पर्व भन्ने गरिन्छ ।  तान्त्रिक विधीबाट रैनादेवी मन्दिर परिसरमा लामाधामीले न्वागीको मिति तोक्ने परम्परा रहेको पाईन्छ । नयाँ धान भित्राएपछि रैनादेवी भगवतीलाई दही, चामल, सिलाम, केरा, मह लगायत चढाएर न्वागी खाने चलन रहेको पाईन्छ ।

महोत्सव कार्यक्रममा नेपाली काग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पाटीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पाटीका जिल्ला अध्यक्ष डुल बहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, जिल्ला समन्वय समितीकी पुर्व कार्यवाहक प्रमुख मिरा मरासिनी, गाउँपालिकाका पुर्व अध्यक्ष राम बहादुर कार्की लगायतको सहभागिता रहेको थियो ।

रैनादेवी मन्दिरमा न्वागी महोत्सवमा आउने सबै भक्तजन, पर्यटक, तथा दर्शकहरुलाई दही चामल खुवाइएको थियो । केही बर्षदेखी गाउँपालिकाले स्थानीय कलासंस्कृति बचाउन, युवा पुस्तामा कलासंस्कृति सिकाउन न्वागी महोत्सवमा स्थानीय भजन, पञ्चेवाजाको प्रस्तुती र सोरठी ठूूलो नाचलाई प्रतियोगिताको रुपमा सञ्चालन गर्दै आएको रैनादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष मिन बहादुर दर्लामीले बताए ।  रैनादेवी मन्दिर परिसर गोखुङ्गाबाट  लामो रेञ्जका हिमालहरुको साथै पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाको दृश्वालोकन गर्न सकिन्छ ।  

प्रकाशित मिति: सोमबार, मंसिर ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update