तुलसी सबैभन्दा बढी अक्सिजन फ्याँक्ने वनस्पति हो । तुलसीमा एन्टी अक्सिडेन्ट भएकाले घर आँगनमा रोपेको तुलसीले घरवरिपरि वातावरण स्वच्छ रहने र हावामा भएका आँखाले देख्न नसकिने कीटाणुसमेत नष्ट गर्न मद्दत गदर्छ । तुलसीलाई हिन्दू परम्परामा विष्णु भगवानको प्रतिक मानिन्छ । घरमा तुलसीको मठ राखे सुख–समृद्धि हुने धार्मिक मान्यता त छँदैछ, यसको लाभ वैज्ञानिक रूपमा समेत प्रमाणित छ । रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने मान्यता पनि छ । हिन्दूहरूका लागि तुलसीको निक्कै महत्व रहने गरेको छ । त्यसैले कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने गरिन्छ । सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ । यो अवधिलाई चतुर्मास भनिन्छ । चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ ।
एकादशीमा पूजाअर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने विश्वास रहिआएको पाइन्छ । भविष्योक्तरा पुराणमा उल्लेख भए अनुसार सर्वप्रथम यस एकादशीको महिमा भगवान् ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान् कृष्णलाई पनि भनेको उल्लेख छ । प्रत्येक हिन्दू धर्मावलम्बीको घरको देब्रेपट्टि बनाएको मठमा तुलसीको बेर्ना सारिने कार्य पनि यस दिन गरिन्छ । यो एकादशीमा व्रत बस्दा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । यमराजका दूतलाई रोक्नका लागि विष्णुधारी तुलसीको बिरुवा घरअगाडि मठ बनाएर रोप्ने गरिन्छ हाम्रो देशको वैदिक दृष्टिकोणमा हरिशयनी एकादशीको ठूलो महत्व रहेको छ । तुलसीको पूजा हुने भएकाले हिन्दूकै महत्वपूर्ण पर्व हरिशयनी एकादशी स्वीकार्य बनेको छ । तुलसीको महत्व जीवनको उदयदेखि अन्त्यसम्म रहेको छ । कुश, तुलसी र पीपलको महत्व पूर्वीय संस्कृतिमा विश्वास गर्नेका लागि जीवनको हृदयझैं महत्व रहेको कुरा वैदिक साहित्यमा सर्वत्र चर्चा भएको पाइन्छ । तुलसी आफैमा सर्वगुणी भएकाले यसको संरक्षण आवश्यक छ । अर्कोतिर, यसको साइनो स्वास्थ्यसँग जोडिएकाले सफा र सहज ठाउँमा हुनुपर्छ । घरको आँगनमा तुलसी रोप्दा त्यसको प्रयोगमा त सहज हुन्छ नै घरको वातावरण राम्रो बनाउँछ । यसर्थ तुलसीको उपयोगिता र महत्व मानव जीवनमा अपरिहार्य बनेको छ ।

