Shittalpati
 लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने हाम्रो अडान हो : सभापति पुन

पाल्पा, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा मन्त्रालय बढाउनु हुँदैन भन्ने काँग्रेसको अडान रहेको बताएका छन् । आइतबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तक्र्रिया कार्यक्रममा बोल्दै सभापति पुनले आर्थिक अवस्था डामाडोल भएको बेला मन्त्रालय बढाएर आर्थिक भार थप्न नहुने काँग्रेसको अडान रहेको बताएका हुन् ।    

लम्बिनी प्रदेश सरकार, काँग्रेसको नेतृत्वमा रहेको तर मन्त्रीमण्डल बढाउने विषयले अझै पनि पूूर्णता पाउन नसकेको उनको भनाई  छ । सभापति पुनले भने ‘हामीले पटक –पटक  भएका मन्त्रालय तुुरुन्त बनाएर  मन्त्रीपरिषद विस्तार गर्न सरकारलाई भनेका छौं ।’ सबैलाई भागबण्डा चाहिएकाले सरकार विस्तारमा ढिलाई भएको सभापति पुनले बताए । उनले भने‘ मुुख्यमन्त्रीसहित अहिले १० वटा मन्त्रालय छन्, अझै अरु दुई/तीन वटा थप्नुुपर्ने भन्ने छ, पार्टीको नीतिगत रुपमा १० भन्दा १२/१३ बनाउने कुुनै कारण छैन, यी नै १० भित्र बसेर काम गर्नुहोस् भनेका छौं ।’ अहिलेको अवस्थामा मन्त्रालय बढाउन आवश्यक नरहेकाले भएका मन्त्रालयलाई पूर्णता दिन प्रदेश सरकारलाई काँग्रेसले निर्देशन दिइसकेको सभापति पुनको भनाई छ ।  

‘अहिले प्रदेशमा मन्त्रालय बढाउनु पर्ने औचित्य के नै छ र ? के का लागि मन्त्रालय बढाउने ?’ उनले भने ‘प्रदेशको आवश्यकतालाई हेरेर मन्त्रालय बढाउने होला नि, कुनै दल विशेषको स्वार्थका लागि मात्रै मन्त्रालय बढाउनु कदापि उचित हुँदैन ।’ अहिले प्रदेश तहको औचित्य माथि प्रश्न उठिरहेका बेला मन्त्रालय बढाएर प्रदेशको आर्थिक भार बढाउने कार्य सही नहुने भन्दै सभापति पुनले अहिले तत्काल मन्त्रालय बढाउने निर्णय जायज नभएको काँग्रेसको निष्कर्ष रहेको बताए । ‘प्रदेश सञ्चालनका लागि मन्त्रालय बढाउनै पर्ने अवस्था आयो भने यस बारेमा पछि सोच्न सकिन्छ नि,’ पुनले भने ‘तर अहिले हतारमा मन्त्रालय बढाएर जनताको इच्छा आकांक्षा पुरा हुुने वाला छैन, यहीलाई नै पुरा गर्नुहोस् भनेर हामीले अडान लिएका छौं , यहाँ पार्टीले रोक्यौं भनिएको छ तर त्यसो होइन हामीले त जो सुुकैलाई बनाएर पनि छिटो भन्दा छिटो मन्त्रिपरिषद् विस्तार गर्नुहोस् भनेका हौं ।’ सरकारले ढिलो गरेको र पार्टीको सम्मेलनपछि सरकारले पूर्णता पाउनेमा आफु विश्वस्त रहेकोे उनले बताए ।

सभापति पुनले काँग्रेसमा समस्या रहेको तर त्यसलाई समाधान गर्न सम्मेलन आयोजना गरिएको धारणा व्यक्त गरे । उनले पार्टीको अधिवेशनलाई समेत सच्याउनका लागि सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने बताए । सभापति पुनले भने ‘हाम्रा अधिवेशन समयमा नहुने र भए पनि स्थानीय, प्रदेश र संघीय निर्वाचन हुने बेला मात्रै अधिवेशन हुने गर्दछ, यसले निर्वाचनका बेला पार्टी भित्रै आन्तरिक असन्तुष्टि सिर्जना गराउन्छ, त्यसका लागि निर्वाचन हुनु एक/दुई वर्ष अगाडि नै अधिवेशन गराउनुुपर्छ भन्ने कुराको जोड दिन पनि सम्मेलन महत्वपूर्ण हुने छ ।’ मंसिर १६ र १७ गते बुटवलमा प्रदेश सम्मेलन हुन लागेको उनले बताए ।    

शनिबार गुल्मीमा भएको दोस्रो सम्मेलनमा भाग लिएर फर्किएका पुनलाई नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा स्वागतसँगै अन्तक्र्रिया गरेको हो । युनियनका जिल्ला अध्यक्ष मन गहिरेको अध्यक्षता, युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालको स्वागत, जिल्ला उपाध्यक्ष रामचन्द्र रायमाझीको सञ्चालनमा पत्रकार भेटघाट कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १०, २०८०  १६:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update