Shittalpati
अर्को संविधानको नाममा युग खेर फालिदैंन : महामन्त्री थापा

पाल्पा, नेपाली काँग्रेसका महामन्त्री गगन थापाले वर्तमान संविधानको नाममा युग खेर नफालिने बताएका छन् । उनले काँग्रेसको नेतृत्वमा आएको शान्ति प्रक्रिया र संविधान निर्माणका विषयमा संविधान नै फेर्ने गरी अहिले टिकाटिप्पीहरु आएको भन्दै अब अर्को संविधानको नाममा युुग खेर नफालिने धारणा व्यक्त गरे । काँग्रेस गुल्मीको दोस्रो जिल्ला अधिवेशनलाई शनिबार तम्घासमा सम्बोधन गर्दै थापाले ठूलो बलिदानका कारण  ल्याइएको संविधानको विकल्प खोज्नेतिर लागेमा फेरि अर्को युग नै खेर जाने भएकाले त्यसतर्फ काँग्रेस सचेत रहेको बताए ।

 ‘हो सरकार सञ्चालनमा कमजोरी भएको छ, निर्वाचन प्राणलीमा कमजोरी भएको छ, प्रादेशीक सञ्चालनमा कमजोरी भएको छ, यस्तो कमजोरी भयो भन्दैमा संविधान नै फेर्नुपर्ने ?’ उनले भने कमजोरी छन्, संविधान भित्र भएका कुराहरु सच्याउनुपर्छ, प्रदेश चलाउन नसक्ने, अनि व्यवस्था परिवर्तनका कुरा गर्ने यस्तो हुँदैन, संविधान सच्याएर जान सकिन्छ ।’ बच्चा रोयो भनेर बच्चालाई सम्झाउने की बच्चा सहितको बाकस लगेर फालिदिने ? काँग्रेसका साथीहरुले अब सोच्न जरुरी रहेको महामन्त्री थापाको भनाई छ । गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा ल्याइएको शान्ति प्रक्रिया र शुसिल कोइरालाको नेतृत्वमा निर्माण भएको संवैधानिक व्यवस्थाप्रति गर्व रहेको उनले बताए । माहामन्त्री थापाले भने‘ काँग्रेसले ल्याएको संवैधानिक व्यवस्थाको अभ्यास गर्दै गर्दा केही अनुुभवहरु भएका छन्, त्यहाँ भएका केही कुराहरु सच्यानुुपर्ने छ, हामी सच्याएर जान्छौं, यही संविधान भित्र विकल्प खोज्छौं तर अर्को संविधानको नाममा युग फाल्न हामीले दिदैनौं ।’      

महामन्त्री थापाले मुर्ति चोर्नेले हाम्रो धर्म जोगाईदिन्छ भन्दै भ्रममा परेकाहरुलाई काँग्रेसले भ्रममुक्त गराउनु पर्ने खाँचो औँल्याए । उनले राजतन्त्रकालमा भन्दा गणतन्त्रकालमा धेरै विकास भएको तथ्यांकहरु प्रस्तुत गर्दै अराजक समूहले चेतनाको सट्टामा उत्तेजनाको राजनीति गर्न खोजेको दावी गरे । महामन्त्री थापाले राजतन्त्रमा राजाको बारेमा प्रश्न उठाउन नपाइने, तर गणतन्त्रमा गणतन्त्र र नेताकै बारेमा खरो आलोचना गर्न पाइने भएकाले नै गणतन्त्र धेरै उत्तम भएको तर्क गरे । उनले काँग्रेस भित्र जिम्मेवारी र अवसरका लागि आफूभन्दा माथी हेर्ने प्रबृत्ति रहेकोले अबदेखि त्यसलाई उल्ट्याएर तल हेर्ने पद्धति बसाल्नु पर्नेमा जोड दिए ।

महामन्त्री थापाले नागरिकको स्वतन्त्रता नै समाजको परिवर्तनको सबैभन्दा ठूलो शक्ति भएको बताए । नागरिक स्वतन्त्र भएनन् भने त्यो समाजले परिवर्तन गर्न सक्दैन भन्ने नीतिका आधारमा काँग्रेस पार्टी अगाडि बढेको उनको तर्क छ । “नेपाली काँग्रेसले सङ्कल्प गर्नुपर्छ । काँग्रेस हामी बदल्छौँ । बदलिएको काँग्रेसले नेपाललाई थप बलियो बनाउने हो । नेपालको सबैभन्दा ठूलो समस्या बेरोजगारी हो । बेरोजगारी अन्त्य गर्न नेपाली काँग्रेस लाग्नुपर्छ । देशका सबै दल र समूहलाई सम्हालेर लैजान सक्ने पार्टी काँग्रेस मात्र हो’, उनले भने । उनले पछिल्लो केही दिनको माहोलप्रति केन्द्रित गर्दै अगाडि भने, ‘मानिस रिसाएका छन् । असन्तुष्टि छ । जायज कारण छन् । केही समूह र पात्रको असन्तुष्टिलाई समेटेर जसका निम्ति बनेको पार्टी नेपाली काँग्रेस गलत हो भनेर लागेका छन् । आम मानिस र पीडामा परेका मानिस ती होइनन् । जसको बारेमा चिन्ता गर्नुपर्नेछ त्यसको बारेमा चिन्तन गर्नुपर्नेछ ।’ उनले सरकारमा बसेर सबैले काम गर्नुपर्नेमा जोड दिँदै काँग्रेसले नै अग्रसरता दिनुपर्ने बताए । थापाले भने, ‘हामीले गर्ने कामहरुबारे छलफल गर्नैपर्छ । तर यसको दोष व्यवस्था र आस्थालाई लगायौँ भने फेरि दुर्घटना हुन्छ’ उनले भने ‘१७ सालमा राजा महेन्द्रले बीपीलाई रोक नलगाएको भए अहिले पनि संवैधानिक राजा रहने थिए । हामीले काम किन गर्न सकेनौँ भनेर लाग्नुको सट्टा व्यवस्था परिवर्तन गर्न खोजिरहेका छौँ । हाम्रो जग मजबुद छ । घरमा समस्या छ भने झ्याल वा धुरी फेर्न सकिन्छ ।’

कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले अहिले अवस्था फेर्नेभन्दा पनि नेतृत्व फेर्ने आवश्यकता रहेकोमा जोड दिए । उनले व्यवस्थामा दोष नभएको र यही व्यवस्थामा मात्रै सुधारको विकल्प हुने भएकाले सुधारतर्फ लाग्नु पर्नेमा जोड दिए ।  नेता भण्डारीले काँग्रेस र गणतन्त्रको विकल्प नभई बुढा नेताहरुको विकल्प खोज्ने बेला भएको धारणा व्यक्त गरे । अर्का केन्द्रीय सदस्य नैनसिंह महरले प्रजातान्त्रिक आचरणअनुसार अगाडि बढ्ने वातावरण आफैँभित्र सिर्जना गर्न जरुरी रहेको बताए । कार्यक्रममा अर्का केन्द्रीय सदस्य चन्द्र केसी, काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिं पुन, प्रदेश उपसभापति भुुवनप्रसाद श्रेष्ठ लगायतले नेपाली जनताको लामो इतिहास र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र जोगाउन काँग्रेस एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । काँग्रेस जिल्ला सभापति खिलध्वज पन्थीको सभापतित्व, सचिव भगतसिं खड्काको सञ्चालनमा कार्यक्रम भएको थियो । सम्मेलन भोलिसम्म चल्ने अर्का पार्टी सचिव जगदीश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update