Shittalpati
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस मनाइँदै

पाल्पा,आज २५ नोभेम्बर अर्थात् अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि विविध कार्यक्रमका साथ मनाइँदैछ । यस वर्ष ‘एकजुट हुनुहोस् : महिला र केटीहरु विरुद्ध हिंसा अन्त्य गर्न सक्रियता’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरे अनुरुप हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि २०५४ सालदेखि लैकि हिंसाविरुद्ध विविध सचेतनामूलक कार्यक्रम गरी अभियान मनाउन सुरु गरिएको हो । यस दिवसलाई नेपालमा पनि सोह्रदिने अभियानको रूपमा २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म मनाउने गरिएको छ । शारीरिक, मानसिक, आर्थिक, राजनीतिकलगायत अन्य महिला हिंसाका अनेकन रूप छन् । प्रत्येक वर्ष महिला हिंसाविरुद्धको दिवसलाई महिला अधिकारकर्मीले भव्यरूपमा मनाए पनि र सरकारले विभिन्न प्रतिबद्धता जाहेर गरे पनि महिला हिंसाको अवस्था भने ज्यूँका त्यूँ छन् । अझै पनि महिलाहरु आर्थिक, सामाजिक, साँस्कृतिक तथा राजनीतिक रूपले विभेदीकरणमा परेका छन् भने शारीरिक र यौनिक हिंसाका शिकार भैरहेका छन् ।

मानव सभ्यातालाई ढुङ्गे युगदेखि आजको २१ औँ शताब्दीको आधुनिक युगसम्म आइपुग्दा पनि जसरी समाज विकासक्रम अगाडि बढेको छ त्यही क्रममा आधाभन्दा बढी जनसंख्याको प्रतिनिधित्व गर्ने महिला माथि लैङ्गिक विभेद एवं हिंसाको घटनामा न्यूनीकरण आउन सकेको छैन । पितृसत्तात्मक संरचनामा जकडिएको नेपाली समाजमा महिला र पुरुष एउटै रथमा दुई पाङ्ग्रा एवं समानताको कुरा जतिसुकै गरिए पनि व्यवहारमा हिंसाको दुष्चक्रमा महिलाहरु भासिँदै जाने असहज परिस्थिति बन्दै गएको छ । महिलाहरु शारीरिक, मानसिक तथा मनोवैज्ञानिक रूपमा कमजोर हुन्छन् भन्ने सोचबाट विकसित समाज अझै आफैँमा भेदभावयुक्त छ । 

प्रकाशित मिति: शनिबार, मंसिर ९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update