Shittalpati
तानसेन–रानीमहल सडकको दुर्दशा, प्राविधिक रमिते

तानसेन, लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत रहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाको बेवास्ताका कारण तानसेन–रानीमहल पर्यटकीय सडक बिजोग अवस्थामा रहेको छ ।  ऐतिहासिक पर्यटकीय क्षेत्र रानीमहल जाने सडक खाल्डाखुल्डी भएको महिनौं भइसक्दा पनि सडक पूर्वाधार विकास कार्यालयले मर्मतका लागि चासो नदेखाउँदा सडक बिजोग अवस्थामा रहेको हो ।

तानसेन हुँदै रानीमहलसम्म पुग्ने अधिकासं सडकमा खाल्डाखुल्डी हुनुको साथै ढलको व्यवस्था नहुँदा पानीले हिलाम्मे र चिप्लो बन्न पुगेको छ । बाÞय र आन्तरिक पर्यटक ओहोरदोहोर गर्ने सडकमा खाल्डाखुल्डी र चिप्लोका कारण नै अस्तव्यस्त हुँदा सडक पूर्वाधार कार्यालयले बनाउन चासो देखाएको छैन । कार्यालयका प्राविधिकहरु सडकको दुर्दशालाई देखे नदेखे जस्तै गर्ने गरेको स्थानीयको गुनासो छ । प्राविधिकहरुको बेवास्ताका कारण मोटरेबल सडक खाल्डै खाल्डा र भासिएको सडकका रुपमा परिणत हुँदै गएको छ । ठूला–ठूला खाल्डा परेको सडकमा सवारी साधन जोखिमपूर्ण रूपले कुदिरहेका छन् । सडक पूर्वाधार विकास कार्यालयका कर्मचारीहरुले सडकको दुर्दशाप्रति चासो नदेखाउँदा तानसेनको कैलाशनगरदेखि रानीमहलसम्म पुग्ने १३ किलोमिटर सडकको मर्मत सम्हार हुन नसकेको तानसेन नगरपालिका –१३ का वडाअध्यक्ष टुकप्रसाद भट्टराईले बताए । उनले रानीमहल क्षेत्र नगर भित्र पर्ने भएकाले पनि त्यहाँ पुग्ने पहुचमार्गको मर्मत सम्हारमा नगरपालिकाले समेत ध्यान दिनुपर्नेमा सो नभएको गुनासो गरे ।

वडा अध्यक्ष भट्टराईले भने ‘सडक पूर्वाधार कार्यालय र तानसेन नगर कार्यपालिकाको बैंठकमा पनि पटक–पटक सडकको दुर्दशाका बारेमा जानकारी गराउँदा समेत वास्ता नगर्दा रानीमहल घुम्न आउँने पर्यटकलाई समस्या परेको छ ।’ हात्तीढुंगा तलको बैकुण्ठे भीरस्थित सडक अन्तर्गतका ठाउँ–ठाउँमा खाल्डा खुल्डी परे पछि दुर्घटनाहरु समेत बढेको स्थानीयको गुनासो छ । खाल्डाखुल्डीका कारण सवारी साधनहरु दुर्घटना समेत हुने गरेका छन् । केही दिन अघि बैकुण्ठे भीर नजिकै सडकमा कार दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । बाटोको अवस्था यति जोखिमपूर्ण र बिग्रिएको छ कि सवारी साधनमा यात्रा गर्दा असुरक्षित हुने त्रास छ ।

प्राविधिक दृष्टिले उच्चजोखिम मानिएका क्षेत्रमा समेत सडक निर्माण गर्ने होडबाजीले एकातिर सडकलाई कुरुप बनाएको छ भने जोखिम पनि उत्तिकै बढाएको छ । हात्तीढुँगामा होटल व्यवसाय गर्दै आएका श्रीधर गैरे भन्छन् ‘हिउँद लागे पछि बन्ला भन्ने आशमा बसियो, तर सम्बन्धित निकायले वास्तै गर्दैन, हामी त हैरान भयौं ।’ स्थानीयवासी र यही सडक हुँदै ओहोरदोहोर गर्ने यात्रुहरु सधैँ दुर्घटना हुने डरैडरमा हिँडनुपर्ने बाध्यता छ । ‘सडक बिग्रिएको महिनौं भइसक्यो, पर्यटक ओहोरदोहोर गर्ने सडक चालू आर्थिक वर्षमा बन्ला भन्ने थियो, नबन्ने पक्का भएको छ,’ होटल व्यवसायी गैरेले भने । सडक पूर्वाधार कार्यालयका प्रमुखदेखि इन्जिनियर सम्मका कर्मचारीले सानो कामको लागि पनि ठेकेदारसँग कमीसन खोज्ने गरेका कारण पनि अधिकांस सडक निर्माणका काम समेत गुणस्तरहीन हुने गरेका छन् । आफुहरुले गरेका कामहरु गुणस्तरीय नै रहेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख बासुदेव भण्डारीले दावी गरे । उनले  तानसेन–रानीमहल सडक मर्मतका लागि यो बर्ष बजेट परेको र ठेक्काको प्रक्रियाबाट छिट्टै काम अगाडि बढ्ने बताए । उनले भने ‘चाडपर्वले गर्दा काम नभएको हो अब छिट्टै हुन्छ ।’  

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update