पाल्पा, पाल्पाको तानसेन नगरपालिका–३ टक्सार टोलमा रोटी महोत्सव हुन लागेको छ । पाल्पा उद्योग वाणिज्य संघ र तानसेन नगरपालिका, वडा– ३ को मुख्य आयोजना तथा मैत्री क्लव तानसेनको सहयोगमा कार्तिक २४ र २५ गते ‘प्रथम रोटी महोत्सव – २०८०’ हुन लागेको हो ।
स्थानीय कुटिर उद्योगबाट उत्पादित वस्तुहरुको प्रचार–प्रसार, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुर्याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । उनले सुस्ताएको तानसेनको व्यवसायीलाई चलायमान बनाउनुको साथै स्थानीय रोटीका परिकारहरुको प्रचार–प्रसार ,प्रवद्र्धन तथा महिलाको आयआर्जमा वृद्धि गर्न महोत्सवले महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । अध्यक्ष भट्टराईका अनुसार महोत्सवमा १० देखि १५ वटा स्टलहरु रहने छन् । महोत्सवमा डेढ लाखको कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
पछिल्लो समय आर्थिक मन्दिका कारण सबै व्यवसायीहरु खुम्चिएर बस्नु परेको अवस्थामा केहि भए पनि आर्थिक गतिविधि बढाउन तिहारको पूर्व सन्ध्यामा महोत्सव गर्न लागिएको महोत्सव संयोजक रञ्जना थापा अर्यालले बताईन् । उनले महोत्वसमा विभिन्न परिकारका रोटीहरु राखिने जानकारी दिइन् । संयोजक अर्यालले भनिन् ‘स्थानीयस्तरमा उत्पादित फिनी, लाखा, जुम्ली, अनर्सा, अर्सा, झिनीया, सेल, झर, पाते, लहरा तथा खुर्मा जस्ता रोटीका प्रकारहरु महोत्सवमा राखिने छ ।’ उनले महोत्सवलाई व्यापक प्रचार–प्रसार गरिदिन पत्रकारहरुलाई आग्रह समेत गरेकी छन् । महोत्सवमा जिल्लाभित्र र बाहिरबाट उल्लेख्य संख्यामा आन्तरिक पर्यटक जम्मा हुने आयोजकको विश्वास छ ।
कार्यक्रममा पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले महोत्सवले परम्परागत र लोपोन्मुख खानाका परिकारको बचाउ र विकास गर्नुका साथै नेवारी सभ्यताको पहिचान स्थापित गर्न मद्दत गर्ने बताए । उनले भने ‘खाना परिकारसँगै लोप हुँदै गएको संस्कार र संकृतिको जगेर्ना गर्नुका साथै पर्यटन विकास र स्थानीय व्यापार व्यवसाय प्रवद्र्धनमा महोत्सव सहयोगी बन्ने छ ।’ उपाध्यक्ष शर्माले तानसेनको व्यापार व्यवसायी खस्दै गएकाले त्यसको समाधानमा जिल्लाका राजनीतिक दल, स्थानीय सरकारले चासो नदेखाएको बताए । उनले तानसेनको विकास र विस्तारमा सबैले चासो देखाउन जरुरी रहेको धारणा व्यक्त गरे । महोत्सवले तानसेनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने भएकाले यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर गर्दै जानु पर्नेमा उनले जोड दिए । महोत्सव दुई दिन चल्ने छ । शुक्रबार विहान १२ः १५ मा महोत्सको उद्घाटन गरिने पाल्पा उद्योग वाणिज्य संघका महासचिव समिरमान सिंहले जानकारी दिए ।