Shittalpati
कालिगण्डकीमा ‘स्टिमर’लाई यात्रु पाउनै मुस्किल

गल्याङ (स्याङ्जा), कालीगण्डकीमा सञ्चालित जलयातायात सेवा ‘स्टिमर’ले यात्रु पाउँनै मुस्किल भएको छ । नेपालको सबैभन्दा ठूूलो जलविद्युत परियोजना कालीगण्डकी ‘ए’ मा बाँध निर्माण गरेपछि बनेको जलाशयमा २१ वर्षदेखि जलयातायात सेवा सञ्चालनमा छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७, मिर्मी आँधीमुहानदेखि स्याङ्जा, पर्वत र गुल्मीको संगम सेतीवेणीसम्म साढे सात किलोमिटरको दूरीमा स्टिमरले सेवा दिएको छ ।

यहाँ छ/सातवर्ष पहिले दैनिक पाँचसयदेखि एकहजार यात्रुले स्टिमरमार्फत आवतजावत गरिरहेका थिए । हाल जल यातायात सेवाले यात्रु पाउन छोडेपछि स्टिम्बर व्यवसायी मर्कामा परेका छन् । स्टिमर नचलेपछि धेरैजसो स्टिमर बिग्रएर थन्किएका छन् । कुनै स्टिमरलाई बर्खाको भेलले बगायो भने कुनै स्टिमर टुट्ने, फुट्ने र गल्ने भएका छन् । आँधीघाट र सेतीवेणी घाटका एक सय जनाको संयुक्त लगानीमा शिलाशालिग्राम जलयातायात समिति गठन गरेर २०५९ वैशाखदेखि यहाँ तीन वटा हातेबोट ‘डुङ्गा’बाट जलयातायात सेवा सञ्चालन गरिएको थियो । शिलाशालिग्राम जलयातायात प्रालिका संस्थापक अध्यक्ष टीकाराम कुँवरले हातेबोटलाई विस्थापित गर्दै २०६२ सालमा घाग्राघाटबाट पम्पसेट जडित स्टिमर खरिद गरी सञ्चालन गरिएको बताए । ‘स्याङ्जा, पर्वत, गुल्मी र बागलुङका बासिन्दाले स्टिमरलाई भरपर्दो यातायातको साधनका रुपमा प्रयोग गर्दै आएका थिए,’ उनले भने, ‘विसं २०६२ मा बर्खाको समय कालीगण्डकीमा आएको आँधीले पम्पसेट जडित स्टिमर बगाएपछि हामीले धेरै क्षमताको स्टिमरको खोजी गर्न थाल्यौँ ।’ अध्यक्ष कुँवरका अनुसार आँधीमुहानमै इञ्जिन जडित ८० र एक सय जना क्षमताको दुई वटा स्टिमर निमाण गरेर सञ्चालन गरिएको छ ।

विगतमा दैनिक दुई सय ५० जनाको हाराहारीमा यहाँ स्टिमर सेवामार्फत यात्रा गर्ने गरेका थिए । कालीगण्डकीमा जलयातायात सञ्चालन भएपछि स्टिमरका ३६ कर्मचारी र आँधीघाट तथा सेतीवेणी घाटका करिब २५ भरियाले रोजगार पाएका छन् । उनले स्टिमरले नियमित ग्राहक पाउन छोडेपछि धेरै कर्मचारी र भरियाले पेसा परिवर्तन गरेको बताए ।

नियमित स्टिमर चल्ने यात्रु नभएपछि कुनै समूह खचाखच ग्राहाकले भरिने आँधीमोहन बजार हाल सुनसान भएको अध्यक्ष कुँवरको भनाइ छ । शिलाशालिग्राम जलयातायात प्रालिका सचिव चन्द्रबहादुर रानाले कालीगण्डकी नदीको वारीपारी लोकमार्ग र कोरीडोर निर्माण भएपछि यात्रुले स्टिमर चढ्न छाडेर बस, जीप लगायतका सवारीसाधन प्रयोग गर्न थालेकाले स्मिर व्यावसायी समस्यामा परेको बताए । ‘सडक सञ्जाल नजोडिँदा सेतीवेणीका व्यापारीको मालसामन ढुवानी गर्ने तथा स्थानीयको आवागमन गर्ने गतिलो माध्यम स्टिमर सेवा थियो,’ उनले भने, ‘सडक सञ्जाल विस्तार भएपछि सेतीवेणी र आँधीमोहन बजार सुकेको छ, अन्य सवारीसाधनमा भाडा सस्तो भएपछि स्टिमर चढ्ने यात्रु घट्दै गएका छन् । 

सचिव रानाका अनुसार बाहिरी जिल्लाबाट शिला शालिग्राम दर्शनका लागि आउने पर्यटकका कारण कहिलेकाहीँ मात्र स्टिमर चल्ने गरेका छन् । ‘बर्खामा नदीमा पानीको बहाब धेरै हुने र दुर्घटना हुनसक्ने भएकाले जेठदेखि असार, साउन र भदौ महिनामा सेवा बन्द गर्नुपर्ने बाध्यता छ,’ उनले भने । मुक्तिनाथदेखि सेतीवेणी सम्मको बाटोको स्तरोन्नति गरे तथा मुक्तिनाथ दर्शन गर्नेले शिलाशालिग्रामको अनिवार्य दर्शन गर्ने परम्परा यथावत रहेमा बजारसहित स्टिम्बरमा पुनः चहलपहल बढ्ने सचिव राना बताउँछन् । ‘लोकमार्ग र कोरिडोर खन्ने क्रममा कालीगण्डकी नदीमा फालिएका ढुङ्गाले पानीको सहत पुरिन गएको छ,’ उनले भने, ‘नदीमा वषौँसम्म भरिएको गेग्रान सफा गरेमा शिलाशालिग्राम दर्शन गर्न पनि सहज हुन्छ ।’

प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update