Shittalpati
जाजरकोटमा भूकम्प : मृतकको संख्या १५७ पुुग्यो, १९७ घाइते

पाल्पा, भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा ज्यान गुमाउनेको संख्या एक सय ५७ पुगेको छ । मध्यराति गएको भूकम्पमा परी जाजरकोट र रुकुममा गरेर अहिलेसम्म १५७ जनाको ज्यान गएको नेपाल प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार १ सय ९७ जना घाइते भएका छन् । 
 प्रहरीका अनुसार शनिबार साँझा अवेरसम्मको विवरणमा जाजरकोटमा मात्रै मृतकको संख्या १०५ पुुगेको छ भने रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन÷तीन तथा रोल्पामा एक जना घाइते भएका छन् । घाइतेहरूको काठमाडौं, बाँके, सुर्खेत लगायतका जिल्लामा रहेका अस्पतालमा उपचार भइरहेको छ ।
तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरूको उद्धारलगायतका काम भइरहेको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबारबिहानै प्रभावित क्षेत्रमा पुगेर उद्धारको पहलमा जुटेका थिए  । उनी चिकित्सक टोली र राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेका हुन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ । प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 
यसैबीच भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरेको छ । शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ । 

प्रकाशित मिति: शनिबार, कात्तिक १८, २०८०  १९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update