Shittalpati
माथागढीमा काँग्रेसको गाउँ सम्मेलन : पार्टीलाई एकढिक्का बनाएर लैजानुुपर्नेमा जोड 

पाल्पा, पाल्पाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसले गाउँ सम्मेलन गरेको छ । काँग्रेस माथागढी गाउँपालिकाको आयोजनामा  शनिबार कसेनीको सराईमा सम्मेलन भएको हो । 

पार्टीलाई गाउँ, टोल र वडाबाटै बलियो र सशक्त बनाएर लैजाने उद्देश्यले काँग्रेसले गाउँ सम्मेलन गरिएको जनाएको छ । सम्मेलनलाई काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले सम्बोधन गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै सभापति श्रेष्ठले काँग्रेसलाई एकढिक्का बनाएर लैजान वडा तहदेखि नै अभियान थालिएको बताए । उनले गाउँ सम्मेलनले काँग्रेसलाई एकढिक्का बनाई सशक्त भएर अगाडि बढ्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । ‘हामीले जनताका लागि सकारात्मक काम गर्दै गाउँमा आफ्ना साथीलाई पनि सम्झाउन सक्यौँ भने कसैले कांग्रेसलाई हराउन सक्दैन, हामी एकढिक्का हुन जरुरी छ’, उनले भने । अहिले देश अप्ठ्यारो स्थितिबाट अघि बढिरहेको भन्दै तीनै तहका सरकारले समय, परिस्थिति अनुसार जनताका पक्षमा काम गर्न आवश्यक रहेको  समेत सभापति श्रेष्ठले बताए । वर्तमान परिस्थितिलाई काँग्रेसबाहेक अरुले सम्हाल्न नसक्ने उनको भनाइ थियो । 

कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेश सदस्य सन्दिप रानाले काँग्रेसलाई अगाडि बढाउनका लागि सबै एक भएर अगाडि बढ्नुको विकल्प नभएको उल्लेख गरे । अर्का प्रदेश सदस्य रामेश्वर पन्थीले आन्तरिक  कमीकमजोरी पत्ता लगाई त्यसको सुधार गर्दै पार्टीलाई एककाईसौ सताब्दीको गतिशिल, चलायमान, सवल एवं सक्षम बनाउनुु अहिलेको आवश्यकता रहेको धारणा व्यक्त गरे । कार्यक्रममा काँग्रेस  जिल्ला उपसभापतिहरु झपेन्द्र गहिरे, ज्ञानबहादुर गाहाले पार्टीलाई थप सशक्त र गतिशिल प्रदान गर्न जिल्लाका सबै पालिकाहरुमा गाउँ सम्मेलन गर्दै आइएको बताए । 

कार्यक्रममा काँग्रेस जिल्ला सचिव  सन्तोष थापा मगर, कोषाध्यक्ष महोन प्रसाद श्रेष्ठ, पार्टी प्रवक्ता शोभाखर न्यौपाने,  क्षेत्र नं १ का क्षेत्रिय सभापति झमन बहादुर राज मगर, सचिव मधु पराजुली, क्षेत्र नं २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी लगायत क्षेत्रीय प्रतिनिधि, पालिकाका प्रतिनिधि, वडा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पालिका सभापति दीपक थापाले राजनीतिक प्रतिवेदन, सचिव सावित्रा पन्थीले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । पालिका सभापति दीपक थापाको अध्यक्षता, उपसभापति महेन्द्र जिसीको स्वागत, सचिव सुरेन्द्र ढेंगाको सञ्चालनमा कार्यक्रम भएको थियो । 

  

प्रकाशित मिति: शनिबार, असोज २७, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update