Shittalpati
पाल्पाका ६ स्थानमा चाड पर्व लक्षित यात्रु सहायता कक्षा, अफ्ठ्यारो परेमा  १०० मा फोन गर्न पाल्पा प्रहरीको आग्रह

पाल्पा, पाल्पा प्रहरीले जिल्लाका विभिन्न ६ वटा स्थानबाट चाड पर्व लक्षित यात्रु सहायता कक्ष सञ्जालन गरेको छ । प्रहरीले तानसेनको बसपार्क, बर्तुङ्ग, आर्यभञ्ज्याङ्ग, रामपुर, दोभान र हार्थाेकमा चाडपर्व लक्षित यात्रु सहायता कक्ष सञ्चालन गरेको हो ।
नेपालीहरुको महान दशै, तिहार, नेपाल सम्वत, छठ जस्ता ठूला चाडपर्वको समयमा यात्रुहरुले अनावश्यक दुःख नपाउन, यात्रा सजिलो होस्, सहज तथा सुरक्षित रुपमा आ–आफ्नो गन्तव्यमा पुगुन, भनि  पाल्पा प्रहरीले यात्रु सहायता कक्ष सञ्चालन गरेको निमित्त प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले बताईन । पाल्पाका सुरक्षाकर्मीहरुको पहिलो काम भनेकै यात्रुहरुलाई सजिलो, सहज सुरक्षित तरिकाबाट गन्तव्यमा पुराउने गरी तालिम प्रशिक्षण, निर्देशन गरी परिचालन भएको निमित्त प्रजिअ रानाले बताईन् । प्रहरीले मुख्य गरी पाल्पाका ६ वटा स्थानामा यात्रु सहायता कक्ष संञ्चालन गरी चाड पर्व लक्षित सुरक्षा योजना अनुरुप काम शुरु गरेको, जसको लागि २४ सै घण्टा प्रहरीहरु हाई एलटमा परिचालन गरिएको पाल्पाका प्रहरी प्रमुख हेरम्व शर्माले बताए ।

चाडपर्वमा यात्रुहरु लुटिने, ठगिने, अनावश्यक भिडभाड गर्ने, क्षमता भन्दा बढी यात्रुहरु राखेर जोखिम बढाउने, नियमित सवारी साधनहरु चेकजाँच नगरी चलाउने, यात्रुहरुसँग बढी भाडा लिने, स–साना झोला पोकाहरुको भाडा लिने, एउट स्थानमा भनेर यात्रु चढाए पनि गन्तव्यमा नपुर्‍याई बिच बाटोमा छोड्ने, यात्रुसँग थप रकमको बार्गेनिङ्ग, सरसमानमा बढी मुल्य लिने, गुणस्तरहिन सरसमान दिने, जस्ता घटनाहरु हुने भएकाले यात्रुहरुले पैसा नलाग्ने १०० नम्वरमा फोन गरेर सुरक्षित हुन प्रहरी प्रमुख शर्माले जोड दिए । प्रहरीले ६ वटा स्टेशनलाई प्रमुख केन्द्र विन्दु बनाए पनि प्रहरीको उपस्थिती भएका स्थानमाबाट यात्रुहरुलाई आवश्यक सुरक्षा प्रदान गर्ने कार्यक्रम निरन्तर रहेको जिल्ला ट्राफिक प्रहरी पाल्पाका प्रमुख राजकुमार चापागाईले बताए । प्रहरी, नागरिक तथा यातायात व्यबसायीहरुको आपसी सहकार्यबाट दुःखद् घटना नघटीकन चाडपर्व मनाउने गरी प्रहरी सक्रिय रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपि सुगन्ध श्रेष्ठले बताए ।  पाल्पा प्रहरीले चाडपर्वलाई लक्षित गरी हरेक स्थानमा सादा पोसाकमा समेत प्रहरी परिचालन गरी आवश्यक सूचना तथा जानकारी संकलन गर्दै आएको छ । नेपाल यातायात व्यवसायी महासंघका उपाध्यक्ष डिलबहादुर ढुङ्गानाले अहिले जताततै निजी सवारी साधनले यात्रुहरु बोक्ने, दुर्घटना गराउने, दुर्घटना गराई जोखिम बढाउने, यातायात व्यवसायीहरुको रोजी रोटीमा लात हान्ने काम भईरहेकोले यस्ता गैर कानुनी क्रियाकलापहरु तत्काल रोक्न प्रहरी प्रशासनलाई अनुरोध गरेका छन् ।

तानसेन नगरपालिका–६ का वडा अध्यक्ष सागरमान महर्जनले तानसेनको बसपार्कमा यात्रु झरेपछी दशैं आएको महशुस हुने गरी सुरक्षा रणनीति बनाएर काम गर्नुपर्ने बताए । यात्रुहरुको सुरक्षाको लागि स्थानीय सरकारले प्रहरी, यातायात व्यबसायीसँग मिलेर काम गर्ने वडा अध्यक्ष महर्जनले बताए । नागरिक सहायता कक्ष शुभारम्भ कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पाल्पाका सभापति बाबुराम कार्की, यातायात व्यवस्था सेवा कार्यलय पाल्पाका प्रमुख लक्ष्मण घिमिरे, सामुदायिक प्रहरी पाल्पाका अध्यक्ष जयप्रकाश उप्रेती, पत्रकार महासंघ कार्यसमिति सदस्य कृष्ण पोखरेल लगायतले जनताले राहत पाउने गरी एक आपसमा समन्वय गरी यात्रुहरुलाई चाडपर्वको महशुस हुने गरी काम गर्नुपर्नेमा जोड दिए । यातायात व्यवसायीहरुले यात्रुहरुको अवस्था हेरिकन सवारी साधनहरु थप्ने,  आलोपालो बढाउने र सहज रुपमा यात्रुहरुलाई गन्तव्यमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेका छन् । चाडपर्वमा अधिकाश व्यक्तिहरु शहर छोडी गाउँ–गाउँमा जाने भएकाले शहरी सुरक्षा विशेष योजना लागु गरिएको पाल्पा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्व शर्माको अध्यक्षता र ट्राफिक प्रहरी प्रमुख राजकुमार चापागाईको सञ्चालनमा यात्रु सहायता कक्ष शुभारम्भ कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०८०  १७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update