Shittalpati
रामपुरमा चाडपर्व लक्षित बजार अनुगमन

पाल्पा, नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र दिएको छ । सोमबारदेखि दसैँ, तिहार,छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्रका मुख्य बजारमा अनुगमन थालेको हो ।

रामपुर नगरपालिका, जनप्रतिनिधि, ईलाका प्रशासन कार्यालय रामपुर, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय, ईलाका प्रहरी कार्यालय रामपुर, रामपुर उद्योग वाणिज्य संघ र पत्रकारले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् । नगरपालिकाको वडा नं. ५ को सानी अमराई,मटेरी र बेझाँड बजार क्षेत्रको अनुगमन गरिएको छ । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाले खाद्य पसल र होटल व्यवसायको अनुगमन गरेको हो । पसल व्यवसाय दर्ता, नविकरण भए नभएका , खाद्य सामानको म्याद भए नभएको, अन्तशुल्क, होटलमा प्रयोग गर्ने तेलको गुणस्तर मापन, नापतौल सामग्रीको मापन ठिक भए नभएको अनुगमन गरिएको रामपुर नगरपालिकाका प्रेस सल्लाहकार दानु हिस्कीले जानकारी दिए । 

अनुगमनका क्रममा ३७ हजार २० रुपैयाँ बराबरको सामान जफत गरी नष्ट गरिएको छ । अनुगमन टोलीले चाउमिन, मिश्री, तेल, मदिराजन्य पदार्थ, सुर्तिजन्य पदार्थ, पेय पदार्थ, जुस लगाएतका सामग्री बरामद गरी नष्ट गरेको हो । अनुगमनका क्रममा रामपुर अस्पताल परिसर सानीअमराईका होटल तथा पसलहरुमा मापदण्ड विपरित सामग्रीको विक्री गरेको पाईएकाले सामान जफत गरिएको प्रेस सल्लाहकार हिस्कीले बताए ।  अस्पताल परिसरको ५ सय मिटर वरपर मदिराजन्य पदार्थ विक्रि गर्न नपाईने भए पनि सानीअमराई क्षेत्रका होटलहरुमा मदिराजन्य पदार्थ विक्रीका लागि राखेकाले बरामद गरि नष्ट गरिएको उपप्रमुख तथा अनुगमन समितिका संयोजक बाल कुमारी थापाले बताइन् । अस्पताल जस्तो संवेदनशिल क्षेत्र वरपर मदिराजन्य बस्तुको विक्रीबाट रातको समयमा होहल्ला हुने र उपचारका लागि आउने विरामीहरुलाई असर पुग्ने भन्दै अटेर गरी पुनः विक्री गरेमा थप कारवाही प्रक्रिया अगाडि बढाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताए ।

अनुगमनका क्रममा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवालीले  आवश्यक प्रक्रिया पुरा नगरी कुनै व्यवसाय सञ्चालन नगर्न आग्रह गर्दै नियमसंगत रुपमा व्यवसाय सञ्चालन नगरे कारवाही गरिने बताए । यस्तै घरेलु तथा साना उद्योग कार्यालय तानसेन पाल्पाका उद्योग अधिकृत श्याम प्रसाद पौडेलले व्यवसाय दर्ता गर्दा जुन उद्देश्यका साथ भएको छ सोही अनुसारको सामान मात्र विक्री गर्न व्यवसायीहरुलाई निर्देशन दिए । पसल अनुगमन गर्दै खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाका प्रमुख नरेश श्रेष्ठले खाद्य सामग्री खरिद विक्रि गर्दा व्यसायी र ग्रहाक दुवैले म्याद भए नभएको, नापतौल ठिक भए नभएको राम्रो संग यकिन गरेर मात्रै खरिद विक्री गर्नु पर्ने भन्दै उपभोक्ताको स्वास्थ्यमा हानी हुने अखाद्य बस्तु विक्री वितरण नगर्न सुझाव दिए । अनुगमनका क्रममा जफत गरेका सामग्री रामपुर नगरपालिकाको कार्यालय भवन परिसरमा नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, असोज २३, २०८०  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update