Shittalpati
पाल्पामा असोजमै पाक्यो सुन्तला !

पाल्पा, सामान्यतयाः मंसिर–पुस महिना सुन्तला पाक्ने सिजन हो तर पाल्पामा भने भदौको अन्त्यदेखि सुरु भई असोज महिनामै लटरम्म पाकेका छन् । यहाँको सुन्तला जात फलफूल विकास केन्द्र तानसेनको फर्ममा सुन्तला फलेको मात्रै छैन पाकेर पहेँलपुर भएका छन् ।

बर्खायाम सकिनसक्दै यहाँ भदौ, असोज महिना मै सुन्तला पाकेर अचम्मै भएको छ । फर्मको अध्ययन अवलोकनका लागि आउने जो कोही पनि बेमौसमी सुन्तला पाकेको देख्दा दंग छन् । साना बोट, ठूला दाना, स्वादिलो भएको सुन्तला बोटले थेग्नै नसक्ने गरी फलेको र पाकेका छन् । यहाँ ५० भन्दा बढी बोटमा जापानीज ओकीचुवासे प्रजातिको सुन्तला भदौको अन्तिम हप्तादेखि पाक्न सुरु गरेको केन्द्रका प्रमुख दिपक भट्टराईले बताए । उनका अनुसार पाल्पाको हावापानीमा यो सुन्तला अत्यन्त राम्रो हुन्छ । भदौको अन्तिम सातादेखि पाक्न सुरु गरी कात्तिकको दोस्रो हप्तासम्म यो प्रजातिको सुन्तला रहने भट्टराईले बताए । मध्यम आकारमा फैलिने यो जात उन्सोबाली अन्तर्गत पर्दछ । प्रायजसोः स्थानीय सुन्तला मंसिरदेखि खानयोग्य मानिन्छ । फागुनसम्ममा यी सुन्तला टिपेर सकिसकेका हुन्छन् । व्यापारी तथा शितभण्डारण गर्नेले बाहेक अन्यले स्थानीय जातका सुन्तला लामो समयसम्म राख्न सक्दैनन् । बोटमै सुन्तला राखिरहदा अर्को वर्षको फललाई असर पुग्ने हुँदा फागुनसम्म स्थानीय जातको सुन्तला टिपी सक्नुपर्ने प्राविधिकहरु बताउँछन् । स्थानीय जातका सुन्तला अहिले स–साना र हरिया दाना भएका छन् तर, उन्सु भने पाकेर पहेंला पहेंला देखिएका हुन् । नेपालको बागवानी तथा फलफूलको क्षेत्रमा जापान सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग भएको थियो । समुन्द्री सतहदेखि ८ सयदेखि १४ सय मिटरको उचाइमा यसको व्यवसायिक खेती गर्न सकिने भएकाले यो सुन्तला पहाडी जिल्लामा सफल हुने प्राविधिकहरु बताउँछन् । जापानी स्वयंसेवकहरुले यो प्रजातीको सुन्तला २०४४/०४५ सालमा भिर्याएको भएपनि पाल्पामा विगत १० वर्षदेखि परीक्षणको रुपमा लगाइएको र सफल भएको केन्द्रका प्रमुख भट्टराईले बताए ।

यो सुन्तला मध्य पहाडी क्षेत्रमा व्यवसायिक खेती गर्न सकिने प्रजातिको फल हो । अन्य प्रजातीका सुन्तलाको तुलनामा स्वादमा निकै फरक र कम समय मै उत्पादन लिन सकिन्छ । अम्लियपन नहुने, चिनीको मात्रा अत्यन्त कम भएकाले जस्तो सुकै बिरामीका लागि पनि यो सुन्तला फाइदाजनक मानिन्छ । लगाएको तीन वर्षबाटै उत्पादन लिन सकिने हुँदा यो प्रजातिको सुन्तला व्यवसायिक कृषकहरुका लागि समेत लाभदायिक देखिन्छ । असोज महिना मै बोटभरी लटरम्म सुन्तला पाकेको देख्दा दंग परेको फर्मको अवलोकन गर्न पुगेका नेपाल प्रेस युनियन पाल्पाका पूूर्व अध्यक्ष प्रकाश नेपालले बताए । फरक स्वाद, अम्लियपन नभएको, चिनीको मात्रा अत्यन्त कम जस्तो बिरामीले पनि खान हुने, बिया रहितको, तीन वर्षबाटै उत्पादन लिन सकिने १ सय ५० देखि ३ हजार ग्राम तौलसम्म फल लाग्ने यो प्रजातिको सुन्तला कृषकहरुका लागि बहुउपयोगी रहेको पत्रकार नेपालको भनाई छ ।

जापानीज प्रजातीको यो फल नेपालमा यसको सभाव्यताको विषयमा लामो समयको अनुसन्धानपछि सफलता पाएको राष्ट्रिय सुन्तला जात कार्यक्रम परिपाले धनकुटाका वैज्ञानिक उमेश आचार्यले बताए । उनका अनुसार यो जाताको सुन्तला पूर्वदेखि पश्चिमसम्मका पहाडमा खेती गर्न कृषकलाई सिफारिस गरिएको छ । जिल्लाका अधिकांश क्षेत्रमा सुन्तलाको व्यवसायिक खेती हुँदै आएको छ । त्यसमा अधिकाश स्थानीय जातका रहेका छन् । परम्परागत जातको तुलनामा यसबाट छोटो समयमै उत्पादन लिन सकिन्छ । कृषकहरुबाट यो प्रजातिको सुन्तलाको व्यवसायिक खेती अहिलेसम्म भएको छैन । जिल्लामा सरकारबाट सिफारिस भएको र परीक्षणकै क्रममा थियो । अहिले यो व्यवसायी सफल भएको छ । सुन्तला स्वादमा पनि फरक, दाना ठूलठूला भएकाले यो प्रजातिको सुन्तला राम्रो रहेकाले आफुले पनि लगाउने तयारी गरेको रैनादेवी छहरा गाउँपालिका मुझुकी कृषक बसन्ती कार्की बताईन् । उनले भनिन् ‘अन्य प्रजाती भन्दा अगाडि नै उत्पादन लिन सकिने भएकाले कलमी गरेर व्यवसायिक रुपमा लगाउने तयारी गरेकी छु ।’

प्राविधिकहरुका अनुसार (ओकीचुवासे) प्रजातिको सुन्तला ७ किसिमको मध्य यो प्रजातिको मात्र सफल रुपमा उत्पादन लिन सकिने भएको छ । यो प्रजातिको सुन्तला जिल्लामा पहिलो होमस्टे भएको गाउँ बौघागुम्वामा लगाइएको छ । एक बोटमा ४० देखि १ सय ५० केजी उत्पादन लिन सकिने यो प्रजातिको सुन्तला एक रोपनी क्षेत्रफलमा बिस वटा बोट लगाउन सकिने प्रविधिकहरु बताउँछन् । यसमा  ६ प्रतिशत गुलियो र ०.८ देखि एक प्रतिशतसम्म अमिलोको मात्र हुन्छ । 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update