Shittalpati
आगलागीबाट बच्न टुुँडिखेलमा कृत्रिम अभ्यास

पाल्पा, शनिबार बिहान एकाएक तानसेनस्थित टुँडिखेलमा फुसको छानो भएका घरबस्तीमा आगलागी भयो । आगलागी भएको सूचना प्रहरी कन्ट्रोलमा आयो । प्रहरी सेटबाट तत्कालै विपद् व्यवस्थापनलाई जानकारी गराइयो । एम्बुलेन्स र दमकल साइरन बजाउँदै टुँडिखेल पुगे । 

साइरनको आवाजले तानसेनवासीको मन खिच्यो । तानसेनवासीले घरका छत–छतबाट टुँडिखेलमा के भयो भनेर नियालिरहेका थिए । कोही आगो नियन्त्रणमा उपस्थित भएका थिए । आगलागीको घटना थाहा पाउने वित्तिकै नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त अग्नी नियन्त्रकहरु सरसमान लिएर टुुँडिखेल पुगे । त्यहाँ लागेको आगो नियन्त्रणको लागि तानसेन नगरपालिकाको दमकल परिचालन थियो । आगलागीबाट दुईवटा घर जली पुर्णरुपमा नष्ट भए भने ३ जना घाइते भए । दक्ष जनशक्ति परिचालनबाट बस्तीमा लागेको आगो नियन्त्रण गरी थप बस्तीमा आगलागी हुन पाएन । घटनास्थल पुग्ने वित्तिकै दमकलमा खटिएका कर्मचारीले पाइपबाट पानी हालेर आगो निभाए । आगलागी भईरहेका घर भित्र रहेका केही सरसमान, लत्ता कपडा, भाडाँ कुडा तालिम प्राप्त सुरक्षाकर्मीहरुले बाहिर निकाल्न सफल भए । घाइते ३ जनालाई सुरक्षाकर्मीले प्राथमिकता उपचार गरी नेपाल रेडक्रसको एम्बुलेन्समार्फत तत्कालै उपचारको लागि अस्पताल पुर्‍याएको थियो । तर यो वास्तविक घटना भने होइन् । पाल्पा सुरक्षा समितिको आयोजनामा विपद् आइपर्दा कसरी सतर्क रहने भनेर विपद् कृत्रिम घटना अभ्यास गरी देखाइएको हो । अभ्यास देखाइए पनि घटनामा वास्तविक साना–साना फुसको छानो भएका घरहरू निर्माण गरिएका थिए । बस्ती जस्तो बनाइएको थियो । उद्धार टोलीमा प्रहरी र सेना तथा एम्बुलेन्स र दमकल तयारी थिए । अस्पतालमा स्वास्थ्कर्मी र सम्बन्धित निकायका पदाधिकारीहरू थिए । 

कृत्रिम घटना भए पनि वास्तविकजस्तै बनाइएको थियो । गृहमन्त्रालयको आयोजनामा पाल्पाका तीन वटै सुरक्षा निकायको सहयोग र तानसेन नगरपालिकाको समन्वयमा टुँडिखेलमा आगलागीको कृत्रिम घटना घटाई नियन्त्रणका लागि पूर्व अभ्यास गरिएको हो । घटनामा तिन वटै सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा व्यस्थित योजनाबद्ध तरिकाबाट आगलागी नियन्त्रण, उद्धार तथा घाइतेहरुको उपचारको व्यबस्था गरिएको थियो । पाल्पामा गतबर्ष ३ सय भन्दा बढी वनजंगलमा आगलागी भएको, कयौ व्यक्तिहरु घाइते भएको, ठूूलो धनजनको क्षति भएकाले यस्ता विपद्का घटनालाई कम भन्दा कम क्षतिमा न्युनिकरण गर्न, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमानहरु परिचालन गर्ने, अपुग तथा नपुगेका सरसमानहरुको व्यवस्थापन गर्ने पुर्व तयारीका लागि जिल्लाका सुरक्षा निकाय, विभिन्न संघ संस्था र स्थानीयवासी बिच समन्वय सहकार्य बढाउने उद्देश्यले पूूर्व अभ्यास कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए । विपद् व्यवस्थापनमा स्थानीय सरकारको पहिलो जिम्मेवारी रहेको हुन्छ । पछिल्लो समयमा स्थानीय सरकारबाट नै अधिकाश विपद् व्यवस्थापनका घटनाहरुको व्यवस्थापन हुँदै आएको छ । विपद्का घटनाहरुलाई न्युनिकरण गर्न, आवश्यक बजेट परिचालन गर्न, विपद् व्यवस्थापनमा परेका पिडितहरुलाई आवश्यक राहत, तथा मानविय कार्यमा सहयोग गर्ने जस्ता कार्यहरु स्थानीय सरकारले गर्दै आएका छन् । 

पुर्व अभ्यास हेरेर आवश्यक निति नियम, सामग्री व्यवस्थापन, सुरक्षा निकायबिच समन्वय सहयोग तथा आवश्यक बजेटको व्यवस्थपना गर्न सहज सजिलो भएको तानसेन नगरपालिकाका उप–प्रमुख प्रतिक्षा सिंजाली गाहाले बताईन् । यस वर्ष तानसेन नगरपालिकाले विपद् व्यवस्थापनको लागि गत बर्ष भन्दा रकम बढाएर ३० लाख रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

पुर्व अभ्यास कार्यक्रममा शसस्त्र प्रहरी बलले आगलागीलाई तत्काल नियन्त्रणको लागि फायर इष्ट्रिङगुइचरको सही व्यवस्थापन र प्रयोगको नमुना अभ्यास प्रदर्शन गरेको थिया । पछिल्लो समयमा घर घरमा ग्यास लिगका कारण आगलागीका घटनाहरु बढ्दै गएको, मानिसहरुको मृत्यु समेत भएका कारण तानसेनको टुँडिखेलमा ग्यास आगलागी नियन्त्रणको पूूर्व अभ्यास समेत गरिएको थियो । ग्यास सिलिण्डरमा लागेको आगलागी नियन्त्रण गर्ने तीन उपाय मध्ये पहिलो रुपमा बलिरहेको सिलिण्डर ग्यासलाई अक्सिजन नपस्ने गरी कालो कम्मलले च्याप्प छोप्ने, दोस्रो रुपमा बलिरहेको स्थानमा बाल्टी ढ्याप्प ढोप्ने, तेस्रो सुरक्षित तरिकाले बुढी औलाले ग्यासको रेगुलेटरको प्वाल ध्वाप्प बन्द गर्ने तरीकाको प्रदर्शन गरिएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालय, नेपाल रेडक्रस, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी ३५ नंं गुल्म, नेपाली सेना दि फेमश महिन्द्र दल गण, तानसेन नगरपालिका लगायत स्थानीय संघ संस्थाको सहभागिता रहेको थियो । पहाडी तथा शहरी क्षेत्रमा आगलागीको उत्तिकै जोखिम भएकाले स्थानीयहरुलाई सुसूचित गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update