Shittalpati
तानसेनको टुँडिखेलमा आगलागी नियन्त्रणको पूर्व अभ्यास  

पाल्पा, असोज १३ गते शनिबार विहान तानसेनको टुँडिखेलमा अचानक मानिसहरू भागदौड गर्दै हारगुहार मागिरहेका थिए । त्यत्तिकैमा एम्बुलेन्स र दमकलको साइरेनले तानसेनवासीको मन खिच्यो । तानसेनवासीले घरको छत–छत बाट टुँडिखेलमा के भयो भनेर नियालिरहेका थिए । कोही भने टुँडिखेलमा भएको घटनामा सहभागी थिए । टुँडिखेलमा फुसको छाना  रहेका घरबस्तीमा आगलागी भएको थियो । आगलागीबाट दुईवटा घर जली पुर्णरुपमा नष्ट भए भने ३ जना घाइते । आगलागीको घटना थाहा पाउने वित्तिकै तानसेनमा रहेका तीन वटै सुरक्षा निकाय, नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीका तालिम प्राप्त अग्नी नियन्त्रकहरु सरसमान लिएर टुँडिखेलमा पुुगे । उक्त बस्तीमा लागेको आगलागी नियन्त्रणको लागि तानसेन नगरपालिकाको दमकल परिचालन थियो । दक्ष जनशक्तिबाट बस्तीमा लागेको आगो नियन्त्रण गरी थप बस्तीमा आगलागी हुन पाएन । आगलागी भईरहेका घर भित्र रहेका केही सरसमान, लत्ता कपडा, भाडाँ कुडा तालिम प्राप्त सुरक्षाकर्मीहरुले बाहिर निकाल्न सफल भए । घाइतेहरुलाई सुरक्षाकर्मीहरुले प्राथमिकता उपचार गरी नेपाल रेडक्रसको एम्बुलेन्स मार्फत तत्कालै उपचारको लागि अस्पताल पुर्याए । तर यो घटना वास्तविक भने होइन् ।

गृहमन्त्रालयको आयोजनामा पाल्पाका तिन वटै सुरक्षा निकायको सहयोग र तानसेन नगरपालिकाको समन्वयमा विपद् आइपर्दा कसरी सतर्क रहने भनेर विपद् कृत्रिम घटना अभ्यास गरी देखाइएको हो । घटनामा तीन वटै सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा व्यस्थित योजनाबद्ध तरिकाबाट आगलागी नियन्त्रण, उद्धार तथा घाइतेहरुको उपचारको व्यवस्था गरिएको थियो ।

पाल्पामा गतबर्ष ३ सय भन्दा बढी वनजंगलमा आगलागी भएको, कयौ व्यक्तिहरु घाइते भएको, ठूूलो रुपमा धनजनको क्षती भएकाले यस्ता विपद् घटनालाई कम भन्दा कम क्षतीमा न्युनिकरण गर्ने, सुरक्षाकर्मीसँग भएका आवश्यक सरसमानहरु परिचालन गर्ने, अपुग तथा नपुगेका सरसमानहरुको व्यवस्थापन गर्ने पुर्व तयारीको लागि, जिल्लाका तीन वटै सुरक्षा निकाय, विभिन्न संघ संस्था र स्थानीयवासी बिच समन्वय सहकार्य बढाउने उद्देश्यले पूर्व अभ्यास कार्यक्रम गरिएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले बताए ।

विपद व्यबस्थापनमा स्थानीय सरकारको पहिलो जिम्मेवारी रहेको हुन्छ । पछिल्लो समयमा स्थानीय सरकार बाट नै अधिकाश विपद व्यबस्थापनका घटनाहरुको व्यबस्थापन हुदै आएको छ ।  विपदका घटनाहरु लाई न्युनिकरण गर्न, आवश्यक बजेट परिचालन गर्न, विपद व्यबस्थापनमा परेका पिडितहरुलाई आवश्यक राहत, तथा मानविय कार्यमा सहयोग जस्ता कामहरु स्थानीय सरकारले गर्दै आएका छन । पुर्व अभ्यास हेरेर आवश्यक निति नियम, सामग्री व्यबस्थापन, सुरक्षा निकाय विच समन्य सहयोग तथा आवश्यक बजेटको व्यबस्थपना गर्न सहज सजिलो भएको तानसेन नगरपालिकाका उप प्रमुख प्रतिक्षा सिंजाली गाहाले बताईन  । यस बर्ष तानसेन नगरपालिकाले विपद व्यबस्थापनको लागि गत बर्ष भन्दा रकम बढाएर ३० लाख विनियोजन गरेको जनाएको छ ।

पूूर्व अभ्यास कार्यक्रममा शसस्त्र प्रहरी बलले आगलागीलाई तत्काल नियन्त्रणको लागि फायर इष्ट्रिङगुइचरको सही व्यबस्थापन र प्रयोको नमुना अभ्यास प्रदर्शन गरेको थिया । पछिल्लो समयमा घर घरमा ग्यास अगलागीका घटनाहरु बढ्दै गएको, मानिसहरुको मृत्यु समेत भएको कारण तानसेनको टुँडिखेलमा ग्यास आगलागी नियन्त्रणको पुर्व अभ्यास समेत गरिएको थियो । ग्यास सिलिण्डरमा लागेको आगलागी नियन्त्रण गर्ने तीन उपाय मध्ये पहिलो रुपमा बलिरहेको सिलिण्डर ग्यासलाई अक्सिजन नपस्ने गरी कालो कम्मलले च्याप्प छोप्ने, दोस्रो रुपमा बलिरहेको स्थानमा बाल्टी ढ्याप्प ढोप्ने, तेस्रो सुरक्षित तरिकाले बुढि औलाले ग्यासको रेगुलेटरको प्वाल ध्वाप्प बन्द गर्ने तरीकाको पदर्शन गरिएको थियो । कार्यक्रममा जिल्ला वन कार्यालय, नेपाल रेडक्रस, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी ३५ नंं गुल्म, नेपाली सेना दि फेमश महिन्द्र दल गण, तानसेन नगरपालिका लगायत स्थानीय संघ संस्थाको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update