Shittalpati
पाल्पामा मनाइयो पैगम्बर मोहम्मदको जन्मजयन्ती

पाल्पा, पाल्पाका मुस्लिम समुुदायले धर्म गुरु पैगम्वर हजरत मुहम्मदको १४९८ औं जन्मजयन्ती धुमधामका साथ मनाएका छन् । तानसेनका मुस्लिम धर्मालम्बीहरुले मुहम्मदको जन्मदिनको अवसरमा वृत्त सद्भाव र्‍याली सहित पुजापाठ गरी जन्मजयन्ती मनाएका हुन् ।

उनीहरुले ढुङ्गाखानीको मस्जिदबाट र्‍याली निकाली बतासेडाँडा, कैलाशनगर, बसन्तपुर भगवतीटोल, टक्सारटोल, सिल्खानटोल, विशालबजार, शित्तलपाटी, अशनटोल, नारायाणस्थान, सहित नगरपरिक्रमा गरी जामे मस्जिदमा पुगी समापन गरेका थिए । विभिन्न जनचेतनामूलक नारा लेखिएका झन्डाका साथै ब्यानरसहित कार, मोटरसाइकल र्‍याली आयोजना गरेका थिए । बालबालिका युवादेखि वृद्धवृद्धासम्म सबैको र्‍यालीमा पैगम्बर मोहम्मदका विषयमा प्रवचनसमेत दिइयो ।

 पैगम्वर हजरत मुहम्मदलाई इस्लाम धर्मको मुख्य प्रचारको धर्म गुरुको रुपमा मुस्लिम धर्मालम्वीहरुले लिने गरेका छन् । इस्लाम धर्मममा अल्लाह तथा खुदाको सबैभन्दा नजिकको दुतको रुपमा  पैगम्वर हजरत मुहम्मदलाई लिने गरिन्छ । पैगम्वर हजरत मुहम्मदको जन्मदिनको अवसरमा जामे मस्जिद तानसेनमा मुस्लिम विधि परम्परा अनुसार पुजा पाठ तथा ध्यान गरिएको जामे मस्जिद तानसेनका अध्यक्ष मकवुल अलिले बताए । पाल्पामा तानसेन नगरपालिका र रामपुर नगरपालिकाको मुस्लिम समुदायको बसोवास रहेको छ । मुस्लिम समुदायमा इद, वकर इद, मोहरम र पैगरम्वर हजरतको जन्मदिनलाई विशेष चाड पर्वको रुपमा मनाउने गरिएको अध्यक्ष अलिले बताए । तानसेनमा बसोवास गर्ने मुस्लिमहरुले विहान नुहाई धुवाई गरी सफा कपडा लगाएर  मस्जिदमा गई पुनः जलले शुद्धिकरण भई नवाज पढेर पैगम्वर हजरत मुहम्मदको जन्मदिन मनाएका थिए । नवाज पढिसकेपछि  मुस्लिमहरुले एक आपसमा गले लगाएर अंकमाल गरी खुसी साटा–साटा समेत गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १५:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update