Shittalpati
काँग्रेस नेता यादवमाथि खुकुरी प्रहार प्रकरण : पाल्पा तरुण दलले भन्यो‘ खुकुरी प्रहार गर्नेलाई तुरुन्तै कारवाही गर’

पाल्पा, सत्तारूढ दल नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि केही दिन अघि भएको सांघातिक आक्रमणको विषयलाई लिएर नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दल पाल्पाले सरकारको ध्यानाकर्षण गराएको छ । उसले आइतबार  कारवाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराएको हो ।  

 तरुण दलले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाउँदै खुकुरी प्रहार गर्नेलाई तत्काल कारवाही गर्न गृहमन्त्री समक्ष माग गरेको छ । उसले भनेको छ ‘नेपाल तरुण दलका पूर्व अध्यक्ष, पूर्व मन्त्री, काँग्रेसका सह– महामन्त्री महेन्द्र यादवमाथि भृकुटीमण्डपमा खुकुरी प्रहार गरी घाइते बनाईएको घटनाले तरुण दल पाल्पाको गम्भीर ध्यान आकृष्ट गरेको छ । नेपाल सरकारको केन्द्रीय प्रशासन सिंहदरबारको आँगनमा र प्रहरी कार्यालय भृकुटीमण्डपको ढोकामा दिनदहाडै खुलेआम रुपले खुकुरी बोकेर लोकतन्त्रका होनहार योद्धा, लोकतन्त्रवादी नेपाली तरुणहरुका आस्था र विश्वासका केन्द्र माथि भएको उक्त अक्षम्य र जघन्य अपराधको नेपाल तरुण दल पाल्पा घोर निन्दा र भत्सना गर्दछ ।’

 लोकतन्त्र विरोधी तत्वहरुबाट आक्रमण हुँदा सरकारी संयन्त्र मुकदर्शक बन्नु दुखद् भएको तरुण दलका जिल्ला सभापति मजेरसिंह केशीले बताए । उनले जुनसुकै रुप र आवरणबाट आक्रमण भएको भए पनि यसको यथार्थ बाहिर ल्याई अपराधीलाई हदै सम्मको कानुनी कारवाही गर्न सरकार समक्ष माग गरे ।  

नेपाली जनताको हक अधिकारको लागि लडाई लड्ने लोकतन्त्रका पहरेदार नेताहरु माथि दुःख दिने, फितलो प्रशासन चलाएर शान्ति, सुरक्षा र अमनचयनमा विश्वासनिय वातावरण समाप्त पार्ने र तस्करहरुको संरक्षण गर्ने काम सरकारबाट भएको तरुण दलको आरोप छ । सरकार यस्ता विषयमा गम्भीर नबने आफुहरु आन्दोलनमा उत्रिन बाध्य हुने तरुण दलले सरकारलाई चेतावनी दिएको छ । ‘जनताको सविधान बमोजिम शान्तिपूर्ण रुपमा बाँच्न पाउने अधिकारको लागि तरुण दल आन्दोलनको आँधीबेहरी सृष्टि गर्न बाध्य हुने छ ’ सभापति मेजर सिंह केसी र सचिव गोपाल गैरेद्वारा जारी ज्ञापन पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update