Shittalpati
पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पाको पहिचनाको रुपमा रहेको करुवा र ढाकाको विस्तृत अध्ययन गरी ‘ब्राण्डिङ’ गर्ने बताएका छन् । बिहीबार तानसेनमा नेपाली काँग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाल्पाको ढाका र करुवाको विज्ञ टोलीमार्फत अध्ययन गरी त्यसको ‘ब्राण्डिङ’ गर्ने बताएका हुन् ।

मुख्यमन्त्री चौधरीले  करुवा र ढाकाको कसरी बजारिकरण गर्ने भन्ने कुरामा आफु अत्यन्त चिन्तित रहेको बताए । उनले भने ‘यहाँका ढाका र करुवालाई उचित व्यवस्थापन गरी रोजगारीसँग जोड्ने कुरामा प्रदेश सरकार प्रतिवद्ध छ ।’ उनले करुवा र ढाका पहिले प्रदेश सरकारले नै किन्ने बताए । मुख्यमन्त्री चौधरीले भने ‘बजारको कुनै समस्या हुँदैन,पहिले हामीले नै किनिदिन्छौं ।’ उनले करुवा र ढाकाको ‘ब्राण्डिङ’ गर्ने विषय क्याविनेटबाटै पारित गराउने समेत बताए । उनले करुवा र ढाकालाई रोजगारीसँग जोड्न सके आर्थिक विकास गर्न सकिने धारणा व्यक्त गरे । मुख्यमन्त्री चौधरीले भारत, बंगलादेशबाट ढाका आयात भएकाले त्यसलाई विस्थापित गरी गाउँ–गाउँमा पाल्पाली ढाका पु¥याउनुपर्ने बताए । उनले पाल्पा पर्यटनको सम्भावना भएकाले पनि पर्यटनको विकासमा प्रदेश सरकारले ध्यान दिएको बताए । पाल्पालाई टुरिजमको हव बनाउने कुरामा प्रदेश सरकार लागि परेको समेत उनले बताए । मुख्यमन्त्री चौधरीले भने‘ पाल्पालाई कसरी चलायमान बनाउने भन्ने कुरामा म आफै चिन्तित छु, लुम्बिनीमा आउने पर्यटकहरुलाई पाल्पामा कसरी बसाई बसाल्न सकिन्छ भन्ने कुरामा जिल्लाका निजी क्षेत्रले पनि सोच्नुपर्छ ।’ मुख्यमन्त्री चौधरीले अहिले विदेशी मदिराहरू जताततै छ्याप्छ्याप्ती रहेको तर नेपालमै उत्पादन हुने मदिराको भने कुनै मूल्य नरहेको बताए । ‘बाहिरबाट आउने छ्याङ हामी किन्छौँ, अनि यहाँ मगरको घरमा बनेको चाहिँ घोप्ट्याउनुपर्ने स्थिति छ,’ मुख्यमन्त्री चौधरीले भने, ‘यसको अन्त्य गरेर मास बेसमा स्वदेशी उत्पादनहरू बढाउने र रोजगारी सिर्जना हुनुपर्छ ।’ स्वदेशी उत्पादनहरू धेरै राम्रा भए पनि मार्केटिङ गर्न नसकेको चौधरीको भनाइ छ । अब हरेक स्वदेशी उत्पादनलाई प्राथमिकता राख्नुपर्नेमा उनले जोड दिए । 

प्रदेश सरकारले आर्थिक विकासलाई पहिलो प्राथमिकता दिएर काम गरेको भन्दै मुख्यमन्त्री चौधरीले युवा र महिलालाई स्वरोजगार बनाई आत्मनिर्भर बनाईने सेमत बताए । उनले भने ‘व्यक्तिलाई पैसा कमाउने  बाटो बनाउनु अहिलेको आवश्यकता रहेको छ, प्रदेश सरकारले सोही अनुसार योजना बनाएर आगाडि बढेको छ ।’ मुख्यमन्त्री चौधरीले प्रत्येक युवा र महिललाई कम्तीमा २५/३० हजार कमाउने वातावरण प्रदेश सरकारले सिर्जना गर्ने गरी काम गरेको बताए ।  सहभागीहरुले राखेको जिज्ञासाको जवाफ दिर्दै उनले अबको १०÷१५ दिनमा प्रदेश सरकारले पूर्णता पाउने समेत बताए । उनले गठबन्धन एक रहेकाले माओवादीले समर्थ फिर्ता लिने  भन्ने  हल्लामा कुनै सत्यता नभएको बताए । कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले शैक्षिक हवका रुपमा रहेको पाल्पा पछिल्लो समय खस्कदै गएको भन्दै यसतर्फ ध्यान दिन प्रदेश सरकारलाई आग्रह गरे । उनले पाल्पाको शैक्षिकस्तर उकास्न प्राविधिक शिक्षा सञ्चालनमा पहल गर्न मुख्यमन्त्री चौधरीलाई आग्रह गरे ।

काँग्रेसका निवर्तमान जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सदस्य एवं पूर्वमन्त्री वीरबहादुर रानाले भगवती जात्रा राष्ट्रिय गौरवको पर्व रहेकाले प्रदेश सरकारले सोही अनुसार ध्यान दिएको बताए । उनले संघीय सरकारले पनि यसतर्फ चासो देखाउनुपर्नेमा जोड दिए । सांसद रानाले भगवती मन्दिरको छानो चुहिने भएकाले त्यसको मर्मत संभारका लागि प्रदेश सरकारले ध्यान दिन आवश्यक रहेको औल्याए । उनले पाल्पा दरबार, रानीमहल, रम्भादेवी जस्ता पाल्पाका मुख्य पर्यटकीय क्षेत्रहरुको विकासमा लाग्नुपर्ने बेला आएको धारणा व्यक्त गरे । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले संस्थागत रुपमा पार्टीलाई अगाडि बढाउन  आवश्यक रहेको बताए । उनले संस्थागत रुपमा नहिड्ने हो भने पार्टी संस्थागत बन्न नसक्ने धारणा व्यक्त गरे । सभापति श्रेष्ठले पार्टीले ल्याएका संस्थागत योजनाका फाइलहरु कार्यान्वयनमा ध्यान दिन मुख्यमन्त्री चौधरीलाई आग्रह गरे । काँग्रेस जिल्ला सचिव सन्तोषकुमार थापाको सञ्चालनमा कार्यक्रम भएको थियो ।   

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update