Shittalpati
गाउँमा जात्राको रौनक, सहरमा भने हराउँदै 

पाल्पा, जिल्लाका ग्रामीण क्षेत्रमा दिनभर रोपाइँ जात्राको रौनक देखियो तर, तानसेनका बजार क्षेत्रमा भने कहींकतै पनि रोपाइँ जात्रा देख्न पाइएन । तानसेनको काजीपौवा, अर्चले, धरमपानी, सापाखुम, बराङ्दीलगायतका स्थानबाट विगतमा रोपाइँ जात्रा बजारक्षेत्रमा ल्याउँथे । यसपटक भने जात्रा हेर्न बजार आएका जात्रालु पनि देख्न नपाई घर फर्किनुपर्ने अवस्था आयो । तानसेन बजारमा हुने परम्परागत जात्रा, महोत्सव कला संस्कृति आजकल गाउँ–गाउँमा जर्गेना हुन थालेका छन् ।  गाईजात्रा, रोपाईजात्रा जस्ता ऐतिहासिक परम्परागत जात्रा तानसेन बजारबाट हराउँदै गएपछी  गाउँ –गाउँमा भने युवाहरुले जर्गेना गर्न थालेका हुन । पछिल्लो समय सहर बजारको चहल पहल गाउँघर तिर सरेपछी ऐतिहासिक, परम्परागत जात्रा, महोत्सवहरु समेत गाउँ–गाउँमा शुरु भएका छन् ।  

विगतका दिनहरुमा विभिन्न किसिमका ऐतिहासिक जात्रा  हेर्न तानसेन बजारमा मानिसको जमघट हुँदै आएपनि दुई /चार वर्षयता जात्रा निकाल्न छोेडिएको छ । तानसेन बजारमा जात्रा हराए पनि पाल्पाको रिब्दिकोट गाउँपालिका हार्थाेक बजारमा भने परम्परागत ताहमचा गाइजात्रा निकालिएको छ । हार्थाेक बजारमा ताहमचा, लाखे, ढेढेको स्वरुपमा घर–घर, चोक चोक डुलाएर पुजा आजा गर्दै मानिसहरु बिच रमाइलो गरिएको छ । यस्ता ऐतिहासिक जात्राहरु निकाल्न धेरै खर्च लागे पनि परम्परा धान्न सबै पक्ष जुटेर लागेको र हार्थाेकमा ताहमचा जात्रा निकालिएका स्थानीय अगुवा चिरञ्जीवी अमात्यले बताए । स्थानीय कला संस्कृति स्थानीय सरकारको सहयोग विना आगामी दिनमा सञ्चालन गर्न कठिन हुने ताहमचा गाइजात्रा सञ्चालन समितिका अगुवा अमात्यले बताए । तानसेन बजारमा विगतमा विभिन्न किसिमको गाईजात्रा, रोपाईजात्रा निकाल्ने परम्परा अहिले हराउँदै गएको छ । विगत ३ बर्षदेखी तानसेनमा रोपाईजात्रा हुन सकेको छैन ।

तानसेनमा रोपाईजात्रा नभएपछि छिमेकी पालिका बगनासकालीको चिलाङ्दीमा रोपाईजात्रा हेर्ने मानिसहरुको भिडभाड लागेको छ । तानसेन नगरपालिकाले जात्रामा चासो नदेखाएपछी छिमेकी गाउँपालिकाहरुले भने स्थानीयकला संस्कृति जर्गेना गर्न लागि परेका छन् । आफ्नो बाबु बाजेले चलाएको कला संस्कृति जर्गेना गर्दै पहिचान कायम गर्न लागि परेको बगनासकाली रोपाईजात्राका संयोजक विनोद परियारले बताए । तानसेनलाई ऐतिहासिक साँस्कृतिक नगरपालिका भनिए पनि परम्परागत कला संस्कृति हराउँदै जान थालेका छन् । विगतका समयमा विभिन्न किसिमका जात्राहरु हेर्न तानसेन बजारमा जाने गरे पनि आजकल तानसेनमा हुने जात्राहरु गाउँमै गर्न थालिएको बगनासकालीका स्थानीय यज्ञ प्रसाद श्रेष्ठले बताए । काठमाडौंको भाई भनेर चिनिएको तानसेन बजारमा विगतमा हुने अधिकाश जात्राहरु निकालिन छाडिएको, जात्रा सञ्चालनको लागि स्थानीय सरकारले चासो नदिएको तानसेनका संस्कृतीकर्मी राजेन्द्रगोपाल सिंहले बताए । तानसेन नगरपालिकाले भने तानसेनमा हुने जात्राको अवस्था हेरिकन बजेट विनियोजन गरेको तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले बताए । रोपाईजात्राको लागि मात्र ४० हजार बजेट विनियोजन गरिएको भए पनि रोपाइजात्रा हुन नसकेको उनले बताए । तानसेनमा यस बर्ष गतबर्षमा जस्तो गाईजात्रा समेत हुन सकेन । विगतमा स्वतहस्फुर्त रुपमा निकालिने जात्राहरु आजकल हराउँदै गएका छन् । मानिसको बढ्दो बसाई सराई, व्यस्तता, मनोरञ्जनात्मक साधनको विविधिकरण, स्थानीय कला संस्कृति प्रति जनचेतनामा कमी भएका कारण परम्परागत जात्राहरु हराउँदै गएका हुन् ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  १२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update