Shittalpati
निर्वाचनको होइन देश र जनताले जित्ने कुरामा काँग्रेसलाई चिन्ता छ : महामन्त्री शर्मा

पाल्पा, नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसको मिसन २०८४ को निर्वाचन नभएको बताएका छन् । उनले ०८४ को निर्वाचन काँग्रेसको चिन्ताको विषय नभए भन्दै देश बनाउने भष्ट्रचार विरुद्धको अभियान रहेको बताए । सोमबार नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रिय सम्मेलनलाई पाल्पाको रामपुरमा सम्बोधन गर्दै महामन्त्री शर्मा यस्तो बताएका हुन् । 

उनले भने ‘काँग्रेस जिम्मेवार दल हो, त्यसैले चुनावको चिन्ता लिन्न, भष्ट्रचार विरुद्धको अभियानबाट देश र जनताको पक्षमा काम गर्ने कुरामा हाम्रो चिन्ता हो ।’ चुनावको चिन्ता गरेर काँग्रेस नबस्ने महामन्त्री शर्माले बताए ।  उनले आज काँग्रेसको चिन्ता ०८४ मा बहुमत ल्याएर जित्ने हैन, देश र जनताको काम गर्ने रहेको उल्लेख गरे ।  महामन्त्री शर्माले भने‘ एउटा अब्बल विद्यार्थी त्यो होइन जसले परीक्षाको चिन्ता गर्छ परीक्षाको चिन्ता विद्यार्थीले गर्ने होइन, पठाइएको चिन्ता गर्ने हो, तपाईले पढाइएको राम्रो चिन्ता गर्नुभयो भने परीक्षाको चिन्ता लिनुपर्दैन, अब्बल विद्यार्थीले पढाईको चिन्ता लिने हो, आज हामी राजनीतिक दलले जहिल्यै चुनावकै चिन्ता मात्र  लियौं , देशको समाधान चुनाव गर्नु मात्रै हैन ।’  उनले राजनीतिक दलहरुप्रति लक्षित गर्दै भने ‘७० को चुनाव हुँदा, ०७४ को चिन्ता, ०७४ चुनाव हुँदा ०७९ को चिन्ता ०७९ को चुनाव हुँदा ०८४ को चिन्ता, अनि देशको चिन्ता खै ? जनताको चिन्ता खै ? आगामी चुनाव जित्ने कुरालाई दोस्रो, तेस्रोमा राखौ, अहिलेको कुरामा चिन्तित बनौ न’ उनले भने । 

समाजले जित्ने र जनताले जित्ने कुरा मात्र काँग्रेसले गर्छ महामन्त्री शर्माले भने‘ काँग्रेस एक्लैले जित्ने कुरा गर्दैन, देश र जनताले जित्नुुपर्छ भन्ने कुरामा काँग्रेस चिन्ति छ ।’  देश अहिले भष्ट्रचारमा लिप्त छ, अर्थतन्त्रमा समस्यामा छ, यस्तो अवस्थामा सबैले सोच्न आवश्यक रहेको उनले बताए । शर्माले सरकारलाई भ्रष्टाचारको फाइल खोल्ने तागत कांग्रेसले दिएको बताएका छन् । उनले भने, ‘भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडी को छ ? नेपाली कांग्रेस छ ।’ कानुन काँग्रेसका नेतालाई नलाग्ने भन्ने नहुने भन्दै भ्रष्टाचारको फाइल खोल्दा कांग्रेसकै नेता पनि परेको शर्माको भनाइ छ ।  ‘नेताहरू पर्नु भयो होला । कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने त हुँदैन । हामीले बनाएको कानुनमा हाम्रै नेताहरू पर्नुभयो भने हामीले कानुन कमजोर बनाउन खोजेनौं ।  अहिले अरू दलले निलम्बन गर्यो । गरेन भन्नेमात्रै होइन,’ उनले भने । कांग्रेसले गरेको कर्म जनतामाझ बुझाउनुपर्ने महामन्त्री शर्माले बताए ।

केन्द्रीय कार्यसमिति बैठकले गाउँ, वडा, टोल तहमा मानवीय सेवाका कामलाई व्यवस्थित गर्न सेवा दल गठन गर्ने निर्णय गरेको पनि उनले बताए । ‘ती सेवा दलले त्यस क्षेत्रमा मानवीय सेवाका विभिन्न गतिविधि गर्छन्, जनताको सुखदुखमा साथ दिन्छन्’ उनले भने ।  अदालतमा जाने मुद्दाहरुलाई अध्यारो कोठामा बसेर समाधान गर्न गाउँ सेवा दल गाउँ, टोलसम्म पुर्‍याउने  गरी काम गर्न महामन्त्री शर्माले काँग्रेस पाल्पालाई आग्रह गरे । काँग्रेसले नयाँ पुस्ताको विश्वास जोड्न नवनिर्माणको यात्रा प्रारम्भ गरेको समेत उनले  दाबी गरे । ‘विगतमा हामीले निर्वाचनमा मतपत्र थमायौँ, र भन्यौँ, हामीलाई मत देऊ, हामी देश बनाउँछौँ । तर अब हामीले त्यतिमात्रै भनेर नपुग्ने बुझ्यौँ, र भनिरहेका छौँ कि अब मतमात्रै होइन, तिमी देशमा कस्तो नीति चाहन्छौ ? त्यो पनि देऊ भनेर मागिरहेका छौँ,’ उनले अघि भने, ‘त्यसैले अब हरेक युवाले घरमा बसेर गुनासो गरिरहन मिल्दैन, एउटा पूरानो दल आएर ती नै युवाहरूलाई देश कस्तो बनाउने भनेर सोधिरहेको छ ?’ उनले युवामा देश बनाउन सकिन्छ भन्ने मनोविज्ञानको सञ्चार हुनुपर्ने बताए । 

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रदेश सभा सदस्य वीरबहादुर राना, काँग्रेस जिल्ला सभापति झपेन्द्र गहिरे, उपसभापति ज्ञान बहादुर गाहा, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय  सभापति दिनेश कुमार थापा, नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेल,काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकाल, महासमिति सदस्यहरु देवराज ढकाल, रमणबहादुर थापा, लुम्बिनी प्रदेशका दक्ष जनशक्ति  निति निर्माण विभागका प्रमुख सन्दिप राना, काँग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी,नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद गुरागाई, काँग्रेस रामपुर नगरका सभापति नेत्र भट्टराई, समानुपातिक उम्मेदवार तारा रसाइली, विद्यार्थी नेता जीवन तिवारी लगायतले आफ्नो धारणा राखेका थिए । नेपाली काँग्रेस प्रतिनिभिसभा क्षेत्र नं १  को आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा सभापति झमन बहादुर राज मगरको राजनीतिक प्रतिवेदन, सचिव मधु पराजुलीको सांगठनिक र कोषाध्यक्ष डोबराज तिवारीले  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापति  झमन बहादुर राज मगरको अध्यक्षता, उपसभापति रामबहादुर रानाको स्वागत, सचिव कपिल खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।     

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १९:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update