Shittalpati
रैनादेवी छहराको बेलवासमा अस्थायी प्रहरी चौकी 

पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङ्गगढीको बेलवासमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । अस्थायी प्रहरी चौकीको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला र गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

प्रहरी चौकी शुभारम्भ गर्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले प्रहरी चौकीमा कार्यरत प्रहरीहरुलाई जनताको अपेक्षा अनुसार काम गर्न तथा सुसासन कायम गर्न अनुरोध गरे । बल्ढेङ्गगढीको बेलवास क्षेत्र  पहाडी ५ जिल्ला र तराई जोड्ने महत्वपूूर्ण नाकाको रुपमा विकसित भईरहेकाले जनताको शान्ती सुरक्षा कायम गर्न चौकी स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । प्रहरी चौकी स्थापना संगै यस क्षेत्रमा भईरहेको काठ, ढुङ्गा गिट्टी, बालुवाको अवैध चोरी निकासी रोकिने, बढ्दो सवारी दुर्घटना नियन्त्रण हुने, घरेलु हिंसा नियन्त्रण हुने, पालिकाबाट अवैध रुपमा निकासी हुने जडिबुटी कारोबार नियन्त्रण हुने, लागु पदार्थ सेवन तथा ओसार पसार नियन्त्रण हुने प्रमुख जिल्ला अधिकारी बास्तोलाले बताए । गाउँपालिकाको विशेष पहलमा चौकी स्थापना भएको प्रजिअ बास्तोलाले बताए ।

गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईले निर्वाचनको समयमा जनताको घरदैलो गर्दा  जनताको अवस्था, शान्ती सुरक्षा कायम राख्न, लामो मिहेनत र प्रयासपछी चौकी स्थापना गर्न सफल भएको बताए । चौकी स्थापनाले यस क्षेत्रको विकास निर्माणदेखी पालिकाको राजश्व वृद्धिमा समेत टेवा पुग्ने विश्वास दिइएको अध्यक्ष भट्टराईले बताए । विगतमा हुँदै आएका हरेक किसिमका अवैध गतिविधीहरु समेत चौकी स्थापनासंगै रोकिने पालिका अध्यक्ष भट्टराईले बताए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्व शर्माले प्रहरी भनेको जनताको सेवक र कानुन कार्यान्वयन गर्ने संस्था भएकाले  जनताको भावना अनुसार काम गर्ने बताए । तराई ढोरपाटन राजमार्ग क्षेत्रको मुख्य नाका क्षेत्र बल्ढेङ्गगढीको बेलवास भएकाले शान्ती सुरक्षा कायम राख्न, जनताको जिउधनको रक्षा गर्न चौकी स्थापना गरिएको प्रहरी उपरीक्षक शर्माले बताए । यसबाट धेरै मात्रामा काठ तथा नदिजन्य पदार्थ अवैध रुपमा ओसार पसार हुने, रुपन्देहीबाट भागेर यस क्षेत्रमा आई लागु पदार्थ सेवन गर्ने तथा कारोवार गराउने र अत्याधिक दुर्घटनाको कारण गएको बर्ष २ वटा ठूूला–ठूला दुर्घटना भएको अवस्थालाई मध्य नजर गरी पहिलो चरणमा ६ जनाको दरवन्दी कायम रहने गरी अस्थायी प्रहरी चौकी स्थापना भएको पाल्पा प्रहरी प्रमुख शर्माले बताए ।

गाउँपालिकाका प्रवक्ता तथा ७ का वडा अध्यक्ष देवेन्द्र पुनले २०६४ साल देखी यस क्षेत्रमा प्रहरी चौकीको माग गर्दै आएको भए पनि गाउँपालिकाका अध्यक्षको पहलमा प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखको सहयोग र समन्वयमा चौकी स्थापना भएको बताए । अबका दिनमा यस क्षेत्रमा जनताले राहत महशुस गर्ने प्रवक्ता पुनले बताए । कार्यक्रममा सैनामैना नगरपालिका– १० सालझण्डीका वडा अध्यक्ष कृष्ण घिमिरेले रुपन्देही क्षेत्रमा अपराध गर्ने व्यक्तिहरु यस क्षेत्रमा आई लुकिछिपी बस्ने, लागु पदार्थको कारोबार गर्ने र सेवन गर्ने जस्ता गतिविधी गर्ने भन्दै प्रहरी चौकी स्थापना संगै ति रोकिने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाली काँग्रेसका हिमाल कुमार कार्की, नेकपा एमालेका झपेन्द्र बहादुर रायमाझी, वडा नंं ७ का वडा सदस्य सूर्य बहादुर कार्की लगायतले प्रहरी चौकी स्थापना जनताको भावना अनुसार भएको बताए । जिल्ला प्रहरी कार्यालय पाल्पाले चौकीमा प्रहरी सहायक निरिक्षक विष्णु कुमार रेग्मीको कमाण्डमा ६ जना प्रहरी खटाएको छ । गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षता, प्रवक्ता देवेन्द्र पुनको स्वागत र प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुको सञ्चालनमा  कार्यक्रम भएको थियो । 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update