Shittalpati
काँग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिदै

पाल्पा, संगठन सुुदृढीकरणमा लागेको नेपाली काँंग्रेस लुम्बिनी प्रदेशले भदौ पहिलो हप्ता प्रशिक्षण दिन लागेको छ । शुक्रबार दाङको भालुबाङस्थित प्रदेश कार्यालयमा बसेको प्रशिक्षण विभागको बैठकले आगामी भदौ पहिलो हप्ता प्रशिक्षण आयोजना गर्ने निर्णय गरेको हो ।

काँग्रेसले तेस्रो प्रशिक्षणको रुपमा नवलपरासी (पश्चिम ) मा आयोजना गर्न लागिएको जनाएको छ । लुम्बिनीका १२ जिल्ला सभापति, २६ प्रतिनिधिसभा क्षेत्रीय सभापति र ५२  प्रदेशसभा क्षेत्रीय सभापतिका लागि प्रशिक्षण कार्यक्रम गर्न लागिएको प्रदेश उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख भुवनप्रसाद श्रेष्ठले बताए । प्रशिक्षणलाई वरिष्ठ नेता डा. शेखर कोइराला लगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ  । समय अनुकूल पार्टी संगठन चलायमान बनाउन तहगत नेतृत्वका लागि प्रशिक्षण दिन लागिएको लुम्बिनी कांग्रेसका सभापति अमरसिंह पुनले बताए ।  प्रशिक्षणपछि पार्टीको सैद्धान्तिक दृष्टिकोण, कार्यक्रम, आगामी योजना र सांगठनिक गतिविधि तल्लो तहमा पुर्याउन विषेश आधार तय हुने सभापति पुनले बताए ।

काँंग्रेस लुम्बिनी प्रदेशले यस अघि पनि तीन दिन प्रदेशभित्रका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिएको थियो । कांग्रेसले प्युठानमा गत वैशाख २९, ३० र ३१ गते प्रशिक्षण दिएको हो । उक्त प्रशिक्षण मा प्रदेशका १२ जिल्लाबाट झण्डै एक सय जना अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update