Shittalpati
वडा अध्यक्ष अधिकारीले भने ‘ नदीजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधियो’ 

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिका –६ का वडा अध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले नदिजन्य पदार्थ निकासीमा राजनीतिक पूर्वाग्रह साँधिएको बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पालिकाले गरेको निर्णय र समाचारमा आएका कुराहरुमा कुनै सत्यता नभई राजनीतिक पूर्वाग्रह साँधिएको बताएका हुन् ।  

बगनासकाली गाउँपालिकाले वडा अध्यक्ष अधिकारीलाई नदीजन्य पदार्थहरुको अपचलन गरेकाले जरिवाना गरिने निर्णय गरिएको विषय बाहिरिएपछि उनले यसबारे स्पष्ट पारेका हुन् । उनले भनेका छन् ‘पालिकाले असार ३० गतेको निर्णय बमोजिम नदीजन्य पदार्थहरुको अपचलन सम्बन्धमा  २ लाख १० हजार जरिवाना गरिएको भन्ने निर्णय र प्रकाशित समाचारहरुप्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

अनुगमनमा वडा कार्यालयलाई जानकारी समेत नदिई नियमानुसार ठेक्का लागेको घाटबाट गाउँपालिकाको कानुन अनुरुप राजश्व दाखिला गरी स्थानीय ब्यक्तिहरुले संकलन गरिएको नदीजन्य पदार्थलाई केही व्यक्तिहरुको लहलहैमा राजनीतिक पूर्वाग्रह साँधी जननिर्वाचित वडा अध्यक्षमाथि कपोकल्पित आरोप लगाइएको वडा अध्यक्ष अधिकारीले बताएका छन् ।  उनले आफु सहभागी भएको कार्यपालिकाको बैठकमा छलफल समेत नगरेको विज्ञप्तिमा उल्लेख गरेका छन् । ‘कार्यपालिकाको बैंठमा म आफै सहभागी थिए,त्यहाँ कुनै छलफल नै गरिएन, पछि निर्णय लेखि सफाईको मौका समेत नदिई पत्राचार र मिडियामार्फत जरिवाना भन्ने निर्णय सार्वजनिक गरिएको छ , यो निर्णय नियम कानुनसंगत र प्रजातान्त्रिक मूल्य मान्यता विपरित छ भन्ने मेरो ठहर छ’ अध्यक्ष अधिकारीले विज्ञप्तिमा भनेका छन् । 
 

उनले सत्य तथ्य नबुझि दुरासयपूर्ण तरिकाले राजनैतिक पूर्वाग्राहीका आधारमा आफ्नो बदनाम गर्न खोजिएको शितलपाटीसँगको कुराकानीमा बताए । वडा अध्यक्ष अधिकारीले पालिकाले गरेको निर्णयप्रति आपत्ति जनाउँदै के कति कारण र प्रमाणले जरिवाना गरिएको हो ? त्यसबारे बुझ्न र न्यायका लागि पुनरावलोकन गर्न निवेदन दर्ता गरेको बताए । उनले निर्णय उपर थप छलफल तथा अनुसन्धान गरि निर्णय बदर  गर्न पालिकासँग जोडदार माग समेत गरेका छन् । वडाध्यक्ष अधिकारीलाई यम्घास्थित मचेटाघाट बगर क्षेत्रबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन्/निकासी गरेको आरोपमा पालिकाले गत असार ३० गते जरिवाना गर्ने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update