Shittalpati
एमालेको अवरोध कायमै : राष्ट्रिय सभा बैंठक पनि स्थगित

पाल्पा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध कायमै राखेको छ । सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गर्दै  प्रतिनिधि सभा बैंठक अवरोध गर्दै आएको एमालेले विहीबारको राष्ट्रिय सभाको बैठक समेत अवरोध गरेको छ ।

राष्ट्रियसभाको बिहीबारको बैठकको सुरुवातमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले सुन तस्करी प्रकरणमा जोसुकै संलग्न भएपनि कारबाहीको दायरामा ल्याउने सुनिश्चित नभएसम्म संसद् चल्न नदिने भन्दै रुलिङ गर्न माग गरे ।

त्यसपछि एमाले सांसदहरुले आसनबाट उठेर सरकारले सुन तस्करी प्रकरणमा छानबिन समिति नबनाएसम्म बैठक चल्न नदिने अडान लिए । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले छलफल र संवादबाट टुंगोमा पुग्न आग्रह गर्दै बैठक सञ्चालनका लागि प्रयास गरेपनि एमालेले अवरोध कायम राख्यो । एमाले सांसदहरुले आसनबाट उठेर बैठक अवरुद्ध गरेपछि अन्ततः बैठक स्थगित भएको छ ।  एमालेको अवरोधपछि राष्ट्रियसभाको बैठक साउन २२ गते सोमबार १ बजे बस्ने गरी स्थगित भएको हो ।

एमालेकै विरोधका कारण प्रतिनिधिसभा बैठकसमेत अवरुद्ध छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट निकालिएको करिब एक क्विन्टल सुन साउन २ मा सिनामंगल सडकबाट बरामद गरिएको थियो । सुन बरामद भएको दुई साता बितिसक्दा तस्करीमा प्रयोग भएका व्यक्ति मात्र पक्राउ परेका छन् । सुन बरामद हुँदा एक भन्सार एजेन्ट र एक ट्याक्सी चालक पक्राउ परेका थिए । त्यसबाहेक भन्सार अधिकृत, तीन भन्सार एजेन्ट र तीन विदेशी नागरिकसहित १७ जना समातिएका छन् । राजस्व अनुसन्धान विभागले यो प्रकरणको छानबिन गरिरहेको छ । तर एमालेले भने उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै संसद् अवरोध गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १४:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update