पाल्पा, नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले वार्षिक उत्सवको अवसरमा वृक्षारोपण गरेको छ । प्राधिकरणले ३८ औं वार्षिक उत्सवको अवसरमा कार्यालय, दरवार क्षेत्र परिसर, सव स्टेसन बतासेडाँडा, रुप्से, सिलुवा र कलेक्सन काउण्टर हार्थाेक, आर्यभञ्ज्याङ्ग क्षेत्रमा वृक्षारोपण गरेको हो ।
प्राधिकरण पाल्पामा कार्यरत कर्मचारीहरुले वृक्षारोपण गरेर बार्षिक उत्सव मनाएका हुुन् । उनीहरुले आँप, लिची, सुन्तला, कागती, लप्सी लगायतका एक सय पच्चिस भन्दा बढी विरुवा रोपण गरेको थिए । रोपिएका सबै विरुवाहरुको नियमित रेखदेख गोडमेल, समय–समयमा पानी तथा मल राख्ने काम नियमित गर्ने पाल्पा वितरण केन्द्रका प्रमुख इन्जिनियर विवेक अधिकारीले बताए । विद्युुतीय तार नभएको कार्यालय परिसर क्षेत्रमा होचा प्रकृतिका फलफूल छनोट गरी बृक्षारोपण गरिएको कार्यालय प्रमुख अधिकारीले बताए । कार्यालयले हरेक वर्ष फरक–फरक काम गरेर बार्षिक उत्सव मनाउने गरेको कार्यालयका प्रशासन प्रमुख भागिरथ बस्यालले बताए । ‘गत बर्ष बार्षिक उत्सवको दिन कार्यालयका कर्मचारीहरुले रक्तदान गरेका थियौ, यस पटक फलफूलका विरुवा रोपेर परिसर क्षेत्रमा हरियालीसँगै भोलीका दिनमा फलफूल खाने वातावरण मिलाएका छौं ।’ सफा उर्जा, स्वच्छ वातावरण अभियानलाई सफल बनाउन बृक्षारोपण कार्यक्रम गरिएको प्रशासन प्रमुख बस्यालले बताए ।
पाल्पाका १० वटै पालिकाको ८१ वटा वडामा राष्ट्रिय प्रसारण लाईनको विद्युत सेवा पुगे पनि समग्रमा अझै ५ प्रतिशत क्षेत्रमा विद्युत विस्तारको काम भईरहेको इन्जिनियर अधिकारीले बताए । चालु आर्थिक बर्षमा पाल्पालाई पूर्ण विद्युतिकरण भएको जिल्ला घोषणा गर्ने गरी काम भईरहेको उनको भनाई छ । पाल्पामा ३९ हजार विद्युुत उपभोक्ता रहेका छन् भने मासिक रुपमा ३५ लाख युनिट विद्यूत खपत हुदै आएको छ । जिल्लाको तानसेन, हार्थाेक र आर्यभञ्ज्याङ्गमा महशुल भुक्तानी काउण्टर र झुम्सा, बासटारी, ताहुँ, आर्यभञ्ज्याङ्ग, हार्थाेक, अमलावास र जुठापौवामा फ्युज सेवा सञ्चालनमा रहेका छन् ।


                                        
                                        
                                        
                    
                    
                    