Shittalpati
गुल्मीको सिद्धबाबामा होटल म्यानेजमेण्टको पढाई

गुल्मी, गुल्मीको तम्घासस्थित सिद्धबाबा माध्यमिक विद्यालयमा व्यवस्थापनतर्फ पहिलो पटक होटल म्यानेजमेण्टको पढाई सुरु भएको छ । जिल्लामा राम्रै पहिचान बनाएको विद्यालयले यस वर्षदेखि होटल म्यानेजमेण्टको पढाई सुरु गरेको हो ।

होटल म्यानेजमेण्ट धेरै विद्यार्थीहरुको रोजाइको विषय भएकाले रेसुङ्गा नगरपालिकाबाट स्वीकृत लिएर  पढाउन सुरु गरिएको विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले बताए । ५० जनाभन्दा बढी विद्यार्थीहरु होटल म्यानेजमेण्ट विषय पढ्नको लागि विद्यालयमा भर्ना भएका छन् । व्यवस्थापन विषय पढ्ने खर्चमै होटल म्यानेजमेण्ट पढाई सञ्चालन गर्ने कोसिसमा विद्यालयहरु रहेको प्रधानाध्यापक श्रीसले बताए । होटल म्यानेजमेण्ट अध्ययन गर्ने विद्यार्थीहरुले व्यवहारिक सीप हाँसिल गर्न जाँदा र प्राक्टिकलको काम गर्दा लाग्ने सम्पूर्ण खर्चहरु यो वर्ष विद्यालयले व्यहोर्ने बताइएको छ । अन्य सामान्य शुल्क भने लाग्ने छ ।  पहिलो पटक भएकाले होटल म्यानेजमेण्टका लागि छुट्टै ल्याब बनाउने तयारी गरिएको विद्यालयले जनाएको छ । लुम्बिनी प्रदेशमै अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल यस विद्यालयमा विज्ञान, व्यवस्थापन, कानून, शिक्षा, मानविकी, कम्प्युटर इन्जिनियरिङ्गका विभिन्न विषयहरु समेत पढाई हुँदै आएको छ । जिल्लामै होटल म्यानेजमेण्ट अध्ययन सुरु भए पछि धेरै शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यता भने हटेको छ ।

होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण
अहिले एसईईपछिको शिक्षाको यात्रा भनेको कक्षा ११ हो । एसईईपछि  होटल म्यानेजमेन्ट विषय पढ्ने विद्यार्थीको संख्या पछिल्लो समयमा उल्लेख्य रूपमा बढेको छ । रोजगारीको अवसर पनि पर्याप्त भएका कारण यस विषयतर्फ विद्यार्थीको आकर्षण बढेको हो । सैद्धान्तिक र व्यावहारिक दुवै विषयको मिश्रणका कारण अधिकांश उच्च मावि र कलेजमा होटल म्यानेजमेन्ट विषय पढाउने गरेका छन् । अरू विषयभन्दा छिटो अवसर पाइने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढ्दो छ । होटल म्यानेजमेन्ट पढेर यसैमा व्यावसायिक बन्न इन्टर मिडिएट (प्लस टू) मात्र पास गरेर पुग्दैन । यो लेवलमा होटल म्यानेजमेन्ट सम्बन्धी सामान्य ज्ञान हुन्छ र स–साना अवसर पनि पाइन्छ तर व्यावसायिक बन्न ब्याचलर्स (बीएचएम) गर्नु आवश्यक हुन्छ । बीएचएमको चार वर्षे कोर्स सकेपछि देशकै राम्रो होटलमा सेफ बनेर नयाँ–नयाँ खानाका आइटम उत्पादन गर्न सक्ने जनशक्ति तयार हुन्छ भने विदेशमा पनि बीएचएम गर्नेको माग धेरै हुन्छ । अरूको रोजगारी गर्न मन नहुनेले आफैँ होटल, रेस्टुरेन्ट खोलेर सञ्चालन गर्ने क्षमताको समेत विकास हुने हुँदा स्वरोजगार बन्ने र अरूलाई रोजगारी दिने अवसर पनि बन्न सक्छ । अरू विषयभन्दा छिटो अवसर पाइने भएकाले पनि यो विषयमा विद्यार्थीको आकर्षण बढ्दो रहेको हो ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update