Shittalpati
गुल्मीमा पहिरोले च्याप्दा चार महिला घाइते

गुल्मी, जिल्लाको सत्यवती गाउँपालिका–२  चेहमीमा पहिरोले च्याप्दा चार जना महिला घाइते भएका छन् । सिँचाई कुलो सफा गर्ने क्रममा एक्कासी माथिबाट खसेको पहिरोले च्यापेर चार महिला घाइते भएका हुन् ।

चेहीका ६६ मोहीहरू सिँचाई कुलो सफा गर्न झारा गएका थिए । उनीहरु मध्ये चार जनालाई पहिरोले च्यापेको हो । पहिरोले च्यापेर घाइते हुनेमा ४४ वर्षीया प्रेमकला कुँवर, ६८ बर्षकी भगवती कुँवर, ४८ बर्षकी लक्ष्मी दर्जी र अर्को एक स्थानीय महिला रहेको बताइएको छ । उनीहरुको तानसेनको युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको  छ ।

घाइते प्रेमकला कुँवरको कम्मरको हठ्ठी भाचिएका कारण तत्काल शल्यक्रिया गरिएको छ, भने भगवती र लक्ष्मीको उपचार भइरहेको छ । अर्को एक जना महिलाको सामान्य उपचारपछि  डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । स्थानीय वन कुलोमा झारा गर्न गएका ६६ जना मध्ये अधिकांश महिलाहरू रहेका थिए । शनिबार दिउँसो १ बजेको समयमा कुलोको माथिबाट पहिरो खसेपछि एक छिन भागाभाग भएको थियो । भाग्न नभ्याएका महिलाहरूलाई पहिरोले च्याप्दा उनीहरू घाईते भएको स्थानीले बताएका छन् ।

च्यापिएका उनीहरुको स्थानीयको सहयोगमा उद्धार गरिएको अस्पताल पठाइएको थियो । घाइतेहरूको स्वास्थ्य अवस्था बारे बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई आइतबार दिउँसो अस्पताल पुुगेका थिए । उनीहरूको अवस्था बारे जानकारी लिई सिघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाबाट आफु र सिगो पार्टी दुखी भएको सचिव भट्टराईले बताए । उनले घाइतेहरुलाई स्थानीय, प्रदेश, संघीय सरकारहरूबाट तत्काल राहत स्वरूप उपचार खर्च उपलब्ध गराउनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update