Shittalpati
प्रेस युनियन पाल्पाको बैंठक : आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाको आठौं बैंठक तानसेनमा बसेको छ । बैंठकले युनियनलाई आर्थिक रुपमा मजबुत बनाउनेदेखि संगठन चलायमान बनाउनेसम्मका निर्णय गरेको छ ।

त्रैमासिक रुपमा प्रकाशन हुँदै आएको श्रमजीवी बुलेटीनलाई निरन्तरता दिदै अन्य स्रोतहरुको पहिचान गरी आर्थिक रुपमा संगठनलाई बलियो बनाउने बैंठकले निर्णय गरेको छ । उसले युनियनका गतिविधिहरुलाई थप व्यवस्थित गर्दै संगठन चलायमान बनाउन वार्षिक कार्ययोजना नै बनाएर आगाडि बढ्ने निर्णय गरेको हो ।

युनियनले जिल्लाका १० वटै स्थानीय तहमा घुम्ती बैंठक सञ्चालन गर्ने, पत्रकारहरुको क्षमता अभिवृद्धिका तालिम सञ्चालन गर्ने, श्रमजीवी बुलेटीनलाई निरन्तरता दिने, महिला विभाग गठन तथा परिचालन गर्ने, पत्रकार भेटघाट तथा अन्तक्र्रिया गर्ने, स्थानीय सरकारसँग छलफल तथा अन्तक्र्रिया गर्ने, मासिक रुपमा बैंठक बस्ने, अतिथिहरुहरुलाई कार्यालयमा स्वागतसँगै छलफल, अन्तक्र्रिया गर्ने, भ्रमण तथा बनभोजन कार्यक्रम गर्ने, सदस्यता विस्तारलाई निरन्तरता दिने, पत्रकार कल्याणकोषको कार्यविधि बनाई कार्यान्वयन गर्ने, भित्तेपात्रो प्रकाशन गर्ने, प्रेस युनियनको स्थापना दिवस,साधारण सभा, वीपी स्मृति, वीपी जयन्ती जस्ता कार्यक्रम गर्ने वार्षिक कार्ययोजनामा समावेश गरेको छ ।

बैंठकले श्रमजीवी पत्रकारको सामाजिक सुरक्षाका लागि ‘नेपाल प्रेस युनियन कल्याणकारी कोष’ स्थापना र सञ्चालनका लागि कार्यविधि निर्माण गर्ने निर्णय पनि गरेको छ । कार्यविधि निर्माणका लागि युनियनका सल्लाहकार तथा केन्द्रीय उपाध्यक्ष माधव अर्यालको संयोजकत्वमा चार सदस्यीय समिति समेत गठन गरिएको छ । जसको सदस्यमा युनियनका सल्लाहकार प्रकाश नेपाल, कविराज नेपाल र कोषाध्यक्ष दिपक भट्टराई रहेका छन् । बैंठकले युनियनमा आवद्ध महिला पत्रकारहरुलाई थप क्रियाशिल र उनीहरुको क्षमता अभिवृद्धिका लागि सदस्य मीना कुमालको संयोजकत्वमा महिला विभाग गठन गर्ने निर्णय समेत गरेको छ ।

युनियनलाई थप चलायमान र सशक्त बनाएर लैजान आफुहरु सक्रिय भएर लागेको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् । उनले युनियनका गतिविधहरुलाई थप व्यवस्थित र गतिशिलता प्रदान गर्न वार्षिक कार्ययोजना नै बनाएर अगाडि बढ्न लागिएको जानकारी गराईन् । युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले युुनियन पाल्पा शाखाले वार्षिक कार्ययोजना बनाएर अगाडि बढ्ने जुन जमर्को गरेको छ, त्यो प्रशंसनिय रहेको बताए । उनले पदीय जिम्मेवारीमा बसेकाहरुले जिम्मेवारीपूर्वक काम गरे संगठन बलियो हुने धारणा व्यक्त गरे ।

युनियनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार भरत शर्माले युनियनलाई बलियो बनाउन सबै सदस्यहरु एक भएर अगाडि बढ्नुपर्ने बताए । बैंठकमा युनियनका सल्लाहकारहरु प्रकाश नेपाल, कविराज नेपाल, शंकर भण्डारी लगायतले युुनियनमा पत्रकारहरुले प्रतिशोधको भावना नराखी आ–आफ्नो ठाउँबाट जिम्मेवारीपूर्व काम गर्न सके युनियन भएको अनूभूत हुने बताए । बैंठकमा युनियनका उपाध्यक्ष तथा श्रमजीवी बुलेटीनका प्रधान सम्पादक रामचन्द्र रायमाझीले श्रमजीवी बुलेटीन प्रकाशनमा सहयोग पुर्याउनेहरुप्रति आभार व्यक्त गर्दै आगामी अंकहरुमा समेत सबैको सहयोग र साथ आवश्यक रहेको बताए । कोषाध्यक्ष दीपक भट्टराईले कार्यालयको आर्थिक अवस्थाको बारेमा जानकारी गराउँदै संस्थालाई बलियो र चलयमान बनाउन आर्थिक रुपमा सक्षम हुन आवश्यक रहेको धारणा व्यक्त गरे ।

बैंठकमा युनियनका सह–सचिव इमानसिं राना गोरखापत्रको रामपुर संवाददाता र युनियनका पूर्व केन्द्रीय पार्षद् दुर्गेश मल्ल जिल्ला खेलकूद विकास समिति पाल्पाको सदस्यमा नियुक्त भएकोमा हार्दिक तथा शुभकामना समेत व्यक्त गरिएको छ । युनियनकी अध्यक्ष मन गहिरेको अध्यक्षता, सचिव विष्णुप्रसाद घिमिरेको सञ्चालनमा बैंठक बसेको थियो ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १९:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update