Shittalpati
आज विश्व बाघ दिवस मनाइँदै

पाल्पा, नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी आज विश्व बाघ दिवस मनाइँदै छ । संरक्षणमूलक संघसंस्था, निकुञ्ज विभाग लगायतले विभिन्न कार्यक्रम गरी विश्व बाघ दिवस मनाउँदैछन् । बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको संख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजको दिन यो दिवस मनाउने गरिएको हो ।

सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा भएको बाघ पाइने विभिन्न १३ मुलुकका राष्ट्र र सरकार प्रमुखको सम्मेलनले विश्वमा बाघको संख्या दोब्बर पुर्याउने संकल्प गरेको थियो । सो संकल्प अनुसार नेपालले हरेक वर्ष बाघ संरक्षणका विषयमा चासो दिदै यो दिवस मनाउने गरेको छ । बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ । हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान रहन्छ । नेपालमा बाघ संरक्षणका लागि सरकारले वार्षिक करोडौं बजेट समेत विनियोजन गर्दै आएको छ । पछिल्लो समय बाघहरुको उचित व्यवस्थापन नहुँदा विगतको तुलनामा संख्यामा कमी आएको छ ।

यिनीहरूको संख्या घट्नुमा मुख्य कारण भनेको जंगल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकारको उपज हो । यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सक्रिय भएर लागेका छन् । भारत, नेपाल, भुटान, ब·लादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षणका कार्यक्रमहरु अघि बढेका छन् । 

बाघको अस्तित्व जोगाइ राख्न हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । जगंलको राजा भनिने बाघ सुगठित शरीर भएको बलियो र सुन्दर स्तनधारी जनावर हो । यो बिरालो परिवारको सबैभन्दा ठूलो प्रजाति हो । यो खाद्यचक्रको उपल्लो तहमा पर्छ । छालाको पहेंलो भुईंमा काला पाटाहरुले बाघ आकर्षक देखिन्छ र प्रत्येक बाघमा पाटाहरु फरक–फरक हुन्छन् । यसका पञ्जा ठूला र बलिया हुन्छन् ।

प्रकाशित मिति: शनिबार, साउन १३, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update