Shittalpati
पाल्पामा झाँगिदै सम्बन्ध विच्छेदका मुद्दा

पाल्पा, पाल्पाको तिनाउ गाउँपालिकाका (नाम परिवर्तन) दिनेश सारु श्रीमति, दुई छोरीलाई घरमा छोडेर वैदेशिक रोजगारीका लागि कतार गए । उनले कामाएको १० लाख श्रीमतिको नाममा पठाए । सारु ५ वर्षपछि स्वदेश फर्केपछि पठाएको रकमबारे श्रीमतिसँग सोधीखोजी गर्न थाले । श्रीमतिले भने पठाएको रकम बारे जानकारी गराउनुको सट्टा उल्टै आफुलाई खान लाउन नदिएको भन्दै जिल्ला अदालत पाल्पामा उनीविरुद्ध अंश, खान लगाउन पाउँ भन्दै मुद्दा दर्ता गराईन् । घर झगडा साम्य पार्न सारुले सामाजमा अनेकौं प्रयास गरे पनि सफल नभएपछि  अन्ततः अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराए । रामपुरकी (नाम परिवर्तन) मञ्जु सुनारले पनि सम्बन्ध विच्छेद गरेकी छिन् । श्रीमान विदेश गएका उनले श्रीमान श्रीमतीबीच अविश्वास बढेपछि विहे गरेको ४ वर्षमा सम्बन्ध विच्छेद गर्नु पर्‍यो ।

यस्तै माथागढी गाउँपालिकाकी (नाम परिवर्तन) मीना बिकले २ वर्षअघि २१ वर्षको उमेरमा प्रेम विवाह गरिन्, तर विहे भएको एक वर्षमा सम्बन्ध विच्छेद भयो । सुरुमा मन मिलेर प्रेम विवाह भएपनि पछि श्रीमान श्रीमतीको मनमुटावले विवादको रुप लिँदा सम्बन्ध विच्छेद गर्नु पर्‍यो । परिपक्व नभइ, क्षण भरको रमाइलोका लागि विहे गर्दाको परिणामले सम्बन्धले दर्घकालीन रुप लिन सकेन ।

यी त केही प्रतिनिधि पात्र मात्र हुन् । अपरिपक्व विवाह, प्रेम विवाह र वैदेशिक रोजगारी जस्ता कारण पाल्पामा सम्बन्ध विच्छेद गर्ने दम्पत्तीको सख्यामा वृद्धि भएको छ । जिल्ला अदालत पाल्पामा तीन वर्षमा सम्बन्ध विच्छेदका मात्र एक हजार ४५ मुद्दा दर्ता भएका छन् । जिल्ला अदालतका अनुसार  दर्ता भएका मुद्दा मध्ये ४३ प्रतिशत सम्बन्ध विच्छेदका रहेका छन् । 
    तीन वर्षमा यहाँ २ हजार ४ सय ८७ मुद्दा दर्ता भएका थिए । जसमा एक हजार ४५ मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालतका तहसिलदार भेषराज खनालले बताए । उनका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा ६ सय ३६ मुद्दा दर्ता भएकोमा २ सय २८ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । जसमा १ सय ४६ मुद्दा मात्र फस्र्याैट भएका छन् ।

यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ८ सय ३४ मुद्दा दर्ता भएकोमा ३ सय ७४ मुद्दा सम्बन्ध विच्छेदका रहेको तहसिलदार खनालले बताए । सो अवधिमा २ सय ९२ सम्बन्ध विच्छेदका मुद्दा फस्र्यौट भएका छन् । आर्थिक वर्ष २०७९/०८० मा एक हजार १७ मुद्दा दर्ता भएकोमा ४ सय ४३ मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । जसमा सम्बन्ध विच्छेदका ३ सय ६३ मुद्दा मात्र फस्र्यौट भएका छन् । जिल्ला अदालत पाल्पाले आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका कूल मुद्दा मध्ये ७१ दशमल ६८ प्रतिशत फस्र्यौट गरेको छ । यो लक्ष्य भन्दा बढी नै हो । तहसिलदार खनालका अनुसार अदालतमा दर्ता हुने मुद्दामध्ये सबैभन्दा धेरै मुद्दा सम्बन्ध विच्छेदको हुने गरेको बताए । सामाजिक सञ्जालको बढ्दो प्रयोग, वैदेशिक रोजागार, कम उमेरमा विवाह र अन्य पारिवारिक समस्याका कारण सम्बन्ध विच्छेद हुने गरेको उनको भनाई छ । जिल्लामा प्रत्येक वर्ष सम्बन्ध विच्छेदको ग्राफ बढ्दो छ ।

पछिल्लो समय सम्बन्ध विच्छेद गराउनेहरु अत्याधिक रहेको अधिवक्ता शिवप्रसाद देवकोटा बताउँछन् । सम्बन्ध विच्छेद बढ्नुका मुख्य कारण वैदेशिक रोजगार भएको उनको भनाइ छ । अधिवक्ता देवकोटो भन्छन्, ‘कामको खोजीमा श्रीमान् वैदेशिक रोजगारीमा जाने गरेका छन् । लामो समयसम्म श्रीमान् श्रीमती टाढिंदा दूरीका कारण पनि एकापसमा विश्वास घटेर शंका उपशंका गर्न थाल्छन् र, सम्बन्ध विच्छेदको बाटो खुल्छ ।’ कम उमेरमा विवाह, प्रेम विवाह, पितृसतात्मक सामाजिक संरचनाबाट ग्रसित जस्ता कुराले पनि सम्बन्ध विच्छेद हुने गरेको उनले बताए ।

देवकोटाले भने ‘प्रेमी–प्रेमीकाले विवाह हुनुपूर्व एक आपसमा आश्वासन बाड्ने तर विवाहपछि ति आश्वास पुरा नगर्ने, अर्को तर्फ माईतिमा आमा/बुवाले दिने मान सम्मान सासू, ससुराबाट नपाउँदा पनि घरायसी झगडाबाट श्रीमान, श्रीमतिको सम्बन्ध टुट्न पुग्छ ।’ सूचना प्रविधिको प्रयोगबाट हुने विवाहमा पनि सम्बन्ध विच्छेद हुने गरेको उनको भनाई छ । पछिल्लो समय सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेमा वैदेशिक रोजगारीबाट फर्केकाहरु बढी देखिएका छन् । विदेशमा पति वा पत्नी गएपछि परपुरुष वा स्त्रीसँग लागेको, विदेशबाट पठाएको रकम हिनामिना गरेको र शारीरिक–मानसिक यातना दिएको भन्दै सम्बन्ध–विच्छेदका लागि निवेदन दिनेको लर्को लाग्ने गरेको छ । सहरिया, सम्पन्न महिला, पुरुष मात्र होइन, ग्रामीण र विपन्न महिला, पुरुषसमेत सम्बन्ध विच्छेदकोनिवेदन बोकेर अदालत धाउने गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:००
प्रतिक्रिया दिनुहोस्
Weather Update