Shittalpati
सामाजिक विकास डिभिजनको उत्साहजनक प्रगति

पाल्पा, सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले आव २०७९/८० मा उत्साहजनक प्रगति गरेको छ । डिभिजन कार्यालयले शिक्षा, खेलकुद, सामुदायिक भवन निर्माणका काममा ८६.६ प्रतिशत सफलता प्राप्त गर्दै उत्साजनक प्रगति गरेको हो । 

गुल्मी र पाल्पाका सामुदायिक विद्यालय र क्याम्पसहरुको पूर्वाधार विकास, कक्षा ११ र १२ का विद्यार्थीलाई छात्रवृति, दलित, सिमान्तकृत, मुक्त कमैया, कमलरी र मुस्लिम समुदायका लागि ३७ विद्यालयका ३ सय ६१ जना र विज्ञान विषय लिएर स्नातकतह अध्यायन गर्ने छात्रछात्रालाई छात्रवृति दिनुका साथै सीमान्तकृत समुदायका १ सय ८५ गरी समग्रमा ४ सय ८९ जनालाई ६२ लाख १२ हजार ३५ रुपैयाँ र यो आवमा कुल १२ करोड ३२ लाख ६३ हजार २ सय ३० मध्ये १० करोड ७६ लाख ४५ हजार ७ सय ३८ खर्च भए पछि ८६.६ प्रतिशत सफलता प्राप्त डिभिजन कार्यालयका प्रमुख हरिलाल अर्यालले जानकारी दिए ।

शिक्षा क्षेत्रको विकास बिना मुलुकको विकास सम्भव नहुने अवधारणाका साथ मुलुक संघीय प्रणालीमा गएपछि लुम्बिनी प्रदेश सरकारको मातहतमा गुल्मी र पाल्पा जिल्लाका विभिन्न स्थानमा कार्य गर्ने गरी तानसेनमा स्थापना भएको कार्यालयले यो वर्ष गुल्मीका १३ मध्ये ७ पक्की, ६ ट्रस र पाल्पामा १४ मध्ये ६ पक्की, ८ ट्रस गरी २७ कक्षाकोठा र चार विद्यालयमा शौचालय निर्माण सम्पन्न गरेको छ । यस्तैगरी खेलमैदान तर्फ गुल्मीमा १५ र पाल्पा जिल्लामा २१ गरी ३६ स्थानमा सार्वजनिक खेल मैदान निर्माण भएका छन् । विद्यालय हाताको तारवार र कम्पाउड वाल मध्ये गुल्मी जिल्लामा १३ र पाल्पामा ८ गरी २१ स्थानमा, सामुदायिक भवन निर्माण तर्फ गुल्मीमा ४ र पाल्पामा ८ गरी १२ वटा निर्माण भएका छन् । धार्मिक विद्यालय तर्फ पाल्पामा ३ मध्ये दुईमा ट्रस र एकको कक्षाकोठा निर्माण गरिएको छ । सामुदायिक क्याम्पस तर्फ गुल्मी र पाल्पामा दुई/दुई गरी चार वटा क्याम्पसलाई भौतिक पूर्वाधारका काम भएका छन् ।

कार्यालयले आर्थिक वर्षभित्र सामुदायिक विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु ९० जना, गुल्मी र पाल्पाका विद्यालयहरु मध्येबाट ३ सय ५० जना शिक्षकहरु नतिजा सुधार तालिम दिएको जनाएको छ । संगीतका माध्यमबाट पठनपाठन गराउनका लागि पाल्पाको रामपुर नगरपालिका, गुल्मीको रेसुङ्गा र गुल्मी दरवार गरी ५ हजार छात्रछात्रालाई तीन दिने प्रशिक्षण दिइएको छ । पाल्पा र गुल्मीका ६० किशोरीहरु मध्ये पाल्पाको दमकडा, गुल्मीको सिद्धबाबाका किशोरीलाई आत्मरक्षा, पाल्पा र गुल्मीका ४५ जना शिक्षकलाई दमकडा मावि पाल्पामा ६ दिने प्रशिक्षण दिइएको प्रमुख अर्यालले जानकारी दिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update