Shittalpati
गुल्मी काँग्रेसले सरकारलाई भन्यो ‘विस्थापित परिवारलाई राहत र विपद् पूर्व तयारीमा ध्यान देऊ’

पाल्पा, नेपाली काँग्रेस गुल्मीले निरन्तर परेको अविरल वर्षाले आएको बाढीपहिरोबाट विस्थापित भएका परिवारलाई राहत दिन र विपद् पूर्व तयारीमा ध्यान दिन प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ । उसले वर्षाका कारण जिल्लाका विभिन्न ग्रामीण क्षेत्रहरुमा बाढी र पहिरोले क्षति पुर्‍याएकोप्रति सरकारको ध्यानाकर्षण गराउदै राहत र क्षति हुनबाट बचाउन पूर्व तयारी गर्न आग्रह गरेको हो ।

काँग्रेसले बुधबार एक विज्ञप्ति जारी गर्दै एक सातादेखि परेको अविरल वर्षाबाट पहिरो र बाढीका विभिन्न घटनाहरु भएको र त्यसबाट क्षति समेत भएकाले त्यसतर्फ ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । उसले जिल्लाको कालीगण्डकी गाउँपालिकाको केन्द्र पूर्तिघाट बजारमा पहिरोका कारण केही घरहरु विस्थापित भएको बताएको छ । कालीगण्डकी करिडोरको सडक चौडा गर्ने काम भईरहेको अवस्थामा बजार माथिबाट झरेको पहिरोले स्थानीय खड्गबहादुर सार्की, टेकबहादुर बुढा, खिलाबहादुर बुढा, गोपाल पराजुली लगायतका स्थानीयहरुको घरपरिवार विस्थापित भएकाले उनीहरुलाई उचित राहतको व्यवस्था गर्न काँग्रेस जिल्ला सभापति खिलध्व पन्थीद्वारा जारी विज्ञप्तिमार्फत प्रदेश र संघीय सरकारसमक्ष अपिल गरिएको छ ।  पहिरोका कारण  विद्युत पोल समेत बगाएकाले त्यस क्षेत्रमा विद्युत सेवा पूर्णरुपमा अवरुद्ध भएको समेत विज्ञप्तिमा उल्लेख छ । विद्युत प्रशारण लाइनको बजार क्षेत्र र आसपासका क्षेत्रमा विद्युत सप्लाई भइरहेको ट्रान्सफार्मरको वेस पोल समेत ढलेका कारण ट्रान्सफार्मर स्थानान्तरण नगर्दासम्म विद्युत सुचारु हुने अवस्था नभएको बताइएको छ ।

विद्युत अवरुद्ध हुुँदा गाउँपालिका, सरकारी कार्यालय, वित्तीय संस्था, शिक्षण संस्था, गैरसरकारी संस्था, व्यवसायी तथा आमनागरिकहरुले सास्ती व्यहोर्नुपरेको भन्दै यसतर्फ तत्काल प्रदेश र संघीय सरकारले ध्यान दिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । ‘विस्थापित परिवारलाई तत्काल राहत र थप क्षति हुनबाट बच्ने उपाय अवलम्वनका लागि संघीय तथा प्रदेश सरकार, जिल्ला दैवी प्रकोप समिति, नेपाल रेडक्रस सोसाईटी र सम्बन्धित सरोकारवाला निकायसँग नेपाली काँग्रेस गुल्मी हार्दिक अपिल गर्दछ’ विज्ञप्तिमा भनिएको छ । काँग्रेसले बर्खा सुुरु भएकाले विपद्का ठूला घटनाहरु हुन सक्नेप्रति सचेत गराउँदै  विपद् हुनबाट बच्न पूर्व तयारी अवलम्वन गर्न समेत प्रदेश र संघीय सरकारलाई आग्रह गरेको छ ।  

प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update