Shittalpati
नारायणगढ–मुग्लिन सडक यात्रुलाई सधैं सास्ती

पाल्पा, गुल्मी इस्माका प्रदीप खत्रीलाई सोमबार ३ बजेभित्र काठमाडौं नपुगी नहुने थियो । वैदेशिक रोजगारका लागि जापन हिँडेका उनको सोमबार साझा ४ बजे उडान छ । उनी १७ घण्टा मुग्लिनको जाममा परे । त्यहाँ रोकिएका खत्रीले शितलपाटी डटकमसँग निकै आत्तिँदै भने, ‘आज साँझा फ्लाइट छ । क्यान्सिल हुने होकि ? निकै चिन्ता परेको छ । अहिलेसम्म यहीँ छु । कहिले पुग्ने ? कसरी जाने ? रातभर धेरै दुःख पाइयो ।’ सोमबार विहान ८ बजेसम्म उनले आफु मुग्लिनको जाममै रहेको बताए । शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका केही खुले पनि पुनःअवरुद्ध भएको थियो । लामो समय सडक अवरुद्ध भएको जानकारी प्राप्त भएपछि शितलपाटी डटकमको टिमले सडकमै अलपत्र परेका केही व्यक्तिहरुलाई फोनमार्फत सम्पर्क गरी उनीहरुको अवस्था बारे जानकारी लिएको थियो । एनजेडीसँगको सम्पर्कमा तानसेनकी सावित्रा गौतमले पनि लामो समय सडकमै बिताउनु परेको गुनासो गरिन् ।      

आइतबार आमालाई औषधी उपचार गर्न काठमाडौं हिडेकी गौतम नारायणगढ–मुग्लिन सडक खण्डको तुइनखोला नजिकै पहिरो खसेर अवरुद्ध हुँदा विहान ८ बजेसम्म रोकिनु पर्‍यो । तानसेनबाट नाइट गाडी चढेर काठमाडौं हिडेकी उनी लामो समय बाटोमै अलपत्र पर्दा आत्तिएको महशुस भएको बताइन् । बिरामी आमालाई अस्पताल पुर्‍याउन हिँडेकी उनलाई कतिबेला पहिरो हटाइएला र बाटो कटौला भन्ने चिन्ता थियो । आमालाई समयमै काठमाडौं पुर्‍याउन नसक्दा चिन्तित गौतम बाटोको अवस्थाले निकै आक्रोसित पनि थिइन् । 

नारायणगढ–मुग्लिन सडक खण्डमा कुनै पसल छैनन् । पानी परिरहेको छ । जाने ठाउँ कतै छैन । पाल्पाबाट काठमाडौं हिँडेका मनोज कार्कीले भने, ‘दिशा, पिसाव गर्नसमेत पाएको छैन । खाना खाने त त्यस्तै हो ।’ प्रहरी प्रशासन खटे पनि यात्रुले पाएको सास्ती जस्ताको तस्तै रहेको उनको भनाइ छ । ‘सडकमा चाउचाउ समेत खान पाइएको छैन् । बाटोमा खाउँला भनेर साँझ ६ बजे हिँडेको तर बीच बाटोमै यस्तो अलपत्र भइयो । खाना, पानी केही पाएको छैन, बिचल्ली भयो’, उनले भने । यी केही प्रतिनिधि पात्र मात्रै हुन् । उनीहरुजस्ता अति जरुरी काममा यात्रा गर्ने सयौं सवारीसाधनका हजारौं यात्रु शनिबारदेखि नै सडकमा अलपत्र परे । सर्वसाधारण नागरिकले भोगेको सकसलाई सरकारले वास्ता नगरेकोमा उनीहरु दुःखी छन् । नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष वर्खाको समयमा सडक माथिबाट गएको पहिरोका कारण यात्रुले सास्ती भोग्दै आएका छन् । बर्खाको समयमा यस सडक खण्ड छिचोल्न निकै सकस हुने गर्दछ । बर्खामा कति खेर पहिरो खस्छ थाहा नै हुँदैन । बर्खा लागेसँगै यस सडक खण्डमा हिँड्ने यात्रुले सधैं सास्ती खेप्नु परेको छ । शनिबार मध्यरातिदेखि पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका मात्र खुले पनि केही बेरमा फेरि तुइनखोलानजिकै पहिरो खसेर अवरुद्ध भएको थियो । अवरुद्ध सडक सोमबार विहान अबेर मात्र खुलेको थियो । तुइन खोला आडमा खसेको पहिरोले सातायता यात्रुले सास्ती खेपिरहेका छन् ।

केहीबेर सडक खुल्ने र पहिरो खसिहाल्ने भएकाले सडकमा लामो जामसमेत लाग्ने गरेको छ । पहिरोले बिचल्लीमा परेका यात्रुको न खानको ठेगान, न यात्राको । त्यसमाथि जोखिमपूर्ण यात्राले हैरान भएका छन् । नारायणघाट–मुग्लिन सडकको स्तरोन्नति गर्दा पहाड कटान गरिएको थियो । जसका कारण पहिरोको जोखिम बढेको हो । यहाँ हरेक वर्ष नयाँ ठाउँमा पहिरो जाने गरेको छ ।

प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update