पाल्पा, देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मंगलबार सिराहा, धादिङ, कास्की र पर्सामा भएका दुर्घटनामा दुई पैदलयात्री, एक मोटरसाइकल चालक र एक स्कुटरमा सवार वृद्धको ज्यान गएको हो ।
सिराहाको कर्जन्हा नगरपालिका–१ उत्रायणीस्थित कमला नदी किनारमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ग.१ ख ९०१५ नम्बरको बसले ठक्कर दिँदा धनुषाको सहिदनगर नगरपालिका–३ निवासी ३३ वर्षीया प्रमेश्वरी देवी पासवानको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी पासवानको फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा घाइते भएकी अर्की एक पैदलयात्रीको कमलामाई मेडिकल बन्दीपुरमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।यस्तै, धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बा.४ ख ६०५९ नम्बरको टिपरले बा.९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डडेल्धुराको अजयमेरु गाउँपालिका–४ निवासी २८ वर्षीय बरुणप्रसाद भट्टको मृत्यु भएको हो । गम्भीर घाइते भएका भट्टको बैरेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–३२ मजुवामा स्कुटर दुर्घटना हुँदा ६१ वर्षीय माधवप्रसाद शर्माको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ निवासी शर्मा स्कुटरमा सवार थिए । मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकी स्कुटर चालक महिलाको सोही अस्पतालमा उपचार भइरहेको छ।त्यसैगरी, पर्साको वीरगञ्ज महानगरपालिका–२५ मौजे सिर्सियामा मोटरसाइकलको ठक्करबाट पैदलयात्री ६५ वर्षीया राधिका देवीको मृत्यु भएको छ । नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिएर फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । एकै दिन देशका चार जिल्लामा भएका यी दुर्घटनाले सडक सुरक्षामाथि पुनः प्रश्न उठाएको छ । तीव्र गति, लापरबाही र सडक प्रयोगकर्ताको असावधानीले निम्त्याउने दुर्घटनाले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिँदै गएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

