Shittalpati
लुम्बिनीमा एमालेको विरोधका बीच बजेट बारे छलफल

पाल्पा, लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधका बीच बजेटमाथि छलफल भएको छ । सभामुखले उपलब्ध गराएको समयमा पनि सरकार र प्रतिपक्ष दलबीच कुनै संवाद र छलफल हुन नसकेपछि सभामुख तुलाराम (बसन्त) घर्तीले विरोधकै बीच बैठक सुरु गरेका थिए ।

बैंठकमा अर्थमन्त्री धनबहादुर मास्कीले असार १ गते प्रस्तुत गरेको आगामी वर्षको सरकारको राजस्व र व्ययको वार्षिक अनुमान बजेट वक्तव्यमाथिको सैद्धान्तिक छलफल भएको हो । उक्त छलफल भने सकिएको छ । सोमबारको पहिलो बैठक सभामुख तुलाराम घर्तीले सुरु गरेलगत्तै प्रमुख प्रतिपक्ष दल एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्नका लागि समय माग गरेका थिए । सभामुखले समय उपलब्ध गराएपछि उनले सरकारले विपक्षीले राखेका माग नसुनेको र सरकारले अर्कमण्यता देखाइरहेको भन्दै बैठक चल्न नसक्ने बताएका थिए । विपक्षीको विरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक पुनः सुरु भएको थियो ।

दोस्रो बैठक सुरु गर्दै सभामुख घर्तीले सैद्धान्तिक छलफल अघि बढाएपछि एमालेका सांसद्हरूले रोस्टममै पुगेर नाराबाजी गरेका थिए । नाराबाजीकै बीचमा कांग्रेसका बैजनाथ कलवार, बसिउद्धिन खान, स्वतन्त्रबाट निर्वाचित खड्ग बस्नेत र राष्ट्रिय जनमोर्चाकी तारा थापाले बोल्दै सरकारको बजेटको समर्थन गरेका थिए । विपक्षी दलले छलफलमा भाग नलिएपछि अर्थमन्त्री मास्कीले छलफलका क्रममा उठेका विषयवस्तुमा जवाफ दिएका थिए । उनको जवाफसँगै सभामुख घर्तीले राजस्व र व्ययमाथिको सैद्धान्तिक छलफल सकिएको घोषणा गरेका हुन् ।

अर्थमन्त्री मास्कीले आव २०८०/०८१ सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेस गरेका छन् । उक्त विधेयकमाथि आजदेखिको बैठकमा छलफल सुरु हुने जनाइएको छ ।

 बजेटमाथि छलफल गर्न पटक –पटक बैठक बोलाइए पनि एमाले सांसद्को विरोधका कारण स्थगित हुँदै आएको थियो । आइतबारको बैंठक  एमालेका सांसदहरुको नाराबाजी पछि स्थगित भएको थियो । असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update