Shittalpati
लुम्बिनीमा एमालेको विरोध कायमै, आइतबारको संसद बैठक पनि स्थगित

दाङ, लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोध कायमै छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न पटक –पटक बैठक बोलाइए पनि एमाले सांसद्को विरोधका कारण स्थगित हुँदै आएको छ । आइतबारको बैंठक पनि एमालेका सांसदहरुको नाराबाजी पछि स्थगित भएको छ ।

असार १३ गते आह्वान गरिएको बैठकमा बजेटको विषयमा आपत्ति जनाउँदै बिरोध गरेपछि बैठक अघि बढ्न सकेको थिएन । त्यसपछि अवरुद्ध संसद् बैठक आइतबारको लागि आह्वान गरिएको थियो । एमालेले सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिदै आइतबार पनि बैंठक अगाडि बढ्न सकेन । सांसदहरु रोष्टम अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाएका थिए । अर्थमन्त्री धनबहादुर मास्कीले सदनमा आर्थिक वर्ष २०८०/०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गरेका थिए । मन्त्री मास्की बोल्दै गर्दा एमाले सांसदहरु रोष्ट्रम घेराउ गर्न पुगेका थिए । अवरोधका कारण प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । बैठक भोली सोमबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरिएको सभामुख तुलाराम घर्तीले जानकारी दिए ।  एमालेले मुख्यमन्त्री कार्यालयमा शीर्षक नखुलाई एकमुष्ठ दुई अर्ब बजेट छुट्याएको, प्रदेश बिना कारण निर्देशनालयहरू खारेज गरेको, बहुवर्षीय र क्रमागत योजनाको बजेट कटौती गरेको र आफू अनुकूलका मात्रै बजेट विनियोजन गरेकोप्रति आपत्ति जनाउँदै आएको छ ।

असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए । बजेटबारे सहमति नजुट्दा बजेट पेश भएको दुई साता नाघिसक्दा पनि छलफल अगाडि बढ्न सकेको छैन । असार १० गते बजेटमाथि छलफल गर्ने गरी आह्वान गरिएको प्रदेशसभा बैठक आन्तरिक तयारी नपुगेको भन्दै सूचना टाँसेर स्थगित भएको थियो । त्यसपछि असार १३ गते बैठक बसेको थियो । बैठकपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट नीति र सिद्धान्तविपरीत भएको भन्दै विरोध गरेको थियो ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update