Shittalpati
ओझेलमा परेको पाल्पाली कलाकार ‘बाँके हरि’

 देवेन्द्रराज शाक्य
असनटोल तानसेन निवासी पिता शेरबहादुर बज्राचार्य र माता चुनकुमारी बज्राचार्यको जेष्ठ सुपुत्रको रूपमा पि.सं. १९९७ साल फागुन शिवरात्रीका दिन बुटवल निमचोकमा हरिबहादुरको जन्म भयो । सम्पन्न आर्थिक परिवारमा जन्म भएको कारण कुनै आर्थिक समस्या भोग्नु परेन उनलाई । बाल्यकाल रम्दै रमाउँदै बित्यो । किशोरावस्थामा पाइला टेक्दा नटेक्दै उनको झुकाव गीत संगीत, नाँचगानमा भयो । यही झुकावले उनलाई एउटा सफल कलाकारको रूपमा चिनायो । तानसेनमा हुने हरेक नाटकमा एवं झ्याउरे नाँचमा उनको उपस्थिति देखियो । हरीलाई तानसेनको स्थापित कलाकारको रुपमा पनि चिनिन्छ । सूर्यविक्रम ज्ञवाली प्रधान सम्पादक रहेको नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली संक्षिप्त शब्दकोषमा बाँका शब्दको अर्थ बहादुर, वीर, पट्ठो उल्लेख भएको छ ।

हरि बहादुरको गदकाठी मोटो डल्लो गठिलो भएको र स्वभावमा कसैसँग नदब्ने, सुरो, हाक्की खालको थियो । यही कदकाठी र स्वभावका कारण उहाँका साथीभाईहरु उनलाई बाँके भनेर बोलाउन थाले । पछि गएर उनलाई बाँके हरीको नामले चिनिन थालियो । उनी नाट्य कलाकार मात्रै होइन, गायक पनि हुन् । नाटकको गीत होस् या लाउरेको गीत होस्, उनी आफैले गीत गाउने गर्र्थेे । झ्याउरे नाँचमा उनको नृत्य दर्शकहरूलाई मन्त्रमुग्ध पार्ने खालको हुन्थ्यो । तबलाको थाप, संगीतको तालसँगै उनको खुट्टाको चाल हेर्न लायकको हुन्थ्यो । बाल्यकालमा मैले पनि नाँच हेर्ने अवसर पाएको छु । उनी झ्याउरे नाँचमा नाचेको मलाई सम्झना छ । उनको नशा नशामा कलाकारिता भरिएको छ । उनी एक कुशल कलाकार मात्रै होइन एक कुशल शिक्षक एवं एक अनुभवी फुटबल खेलाडी समेत हुन् । उनले नारीलाई शिक्षाप्रति जागरूक बनाउने तानसेनमा वि.स. २००७ सालमा स्थापना भएको मोहन कन्या माध्यमिक विद्यालयमा २०१७ देखि २०१९ सम्म अध्यापन गरेका थिए । त्यसबेला उनको मासिक तलब रु. ६०÷– मात्र थियो ।

तानसेन शिक्षा, संस्कृतिको सहर हुनुका साथै खेलकुदको सहर पनि हो । फुटबल खेल सबैले रुचाउने र खेल्ने खेल हो । उनी एक कुशल फुटबल खेलाडी पनि हुन् । उनीतानसेनको श्रीनगर टिमबाट खेल्नुका साथै हाइस्कूलको टिमबाट पनि खेल्ने गर्थे । उनले नायक भएर खेलेका केहि नाटकहरू यसरी उल्लेख गरिएको छ ।

– नाटक (माटो) वि.सं. २००९ मा मञ्चन
लेखक/निर्देशक चिनियालाल बज्राचार्य थिए । नायक विरे हरिबहादुर बज्राचार्य, नायिका यसपाल शाक्य थिए ।
वि.सं. २००८ सालमा स्थापित जनता माध्यमिकको सहयोगार्थमा यो नाटक मञ्चन गरिएको थियो ।

– दोस्रो विवाह शिर्षकको नाटक २०११ (भगवती मन्दिर परिषरमा मञ्चन)
लेखक कमलराज रेग्मी थिए । नाटकको भूमिका हरि बहादुर बज्रार्च अर्थात् बाँके हरिले गरेका थिए ।

– भरतमिलाप अर्को नाटक  (२०२२ सालमा मञ्चन)  
लेखक निर्देशनमा अम्बिका प्रसाद लाकौल थिए भने नायक भरतको भूमिकामा हरि बहादुर बज्राचार्य थिए ।
–पद्म पाब्लिक हाइस्कूलको वार्षिक उत्सवको अवसरमा कक्षा ९ मा अध्ययन गर्ने विद्यार्थी समूहले दोस्ती (२०१४) नाटक
अन्धाको भूमिका– हरि बहादुर बज्राचार्यको कुशल अभिनय गरेका थिए । हिन्दी चलचित्र दोस्तीलाई लिएर बनाइएको यो नेपाली नाटक धेरै दर्शकहरुले निकै प्रशंसा गरेका थिए । सबैले मेरा दोस्ती मेरा प्यार भन्ने बहुचर्चित गीत गुनगुनाउने गर्दथे ।

– बुद्ध दर्शन अर्को नाटक (२०२९)
आयोजक आनन्द विहार, तानसेन रहेको थियो । छन्दकको भूमिका हरि बहादुर बज्राचार्य थिए भने राजकुमार सिद्धार्थको भूमिका छत्रराज शाक्य थिए । यो नाटक टुँडिखेलमा मञ्चन गरिएको थियो । यति धेरै नाटकहरुमा नायकको भूमिकममा अभिनय गर्ने उनी एक्लो व्यक्ति हुन् भन्दा अत्युक्ति नहोला । तानसेनमा नाटक देखाउनु पर्‍यो भने नायकको लागि उनलाई नै छनोट गरिन्थ्यो । संस्कृतिको धनी सहर तानसेनमा गाठे मंगलदेखि छोकडा नाँच (बोलीचालीको भाषामा झ्याउने नाँच भनियो) निकालिन्थ्यो । हरि बहादुर बज्राचार्यले तानसेनमा स्थापना गरिएको बालहित पुस्तकालयलाई सहयोगको लागि निकालिएको झ्याउरे नाँचमा नायक भएर नाच्न शुरू गरेको बताउँछन् । यो बि.स. २०११ साल तिरको कुरा हो । त्यसपछि त प्रत्येक वर्ष झ्याउरे नाँच भयो । उनी  वि.स. २०१८ सालमा आई.ए.को परीक्षा दिन काठमाडांै गए । अन्तिम परीक्षाको अघिल्लो दिन स्वयम्भु घुम्ने क्रममा साइकल दुर्घटना भई हात भाँचिए पछि अन्तिम परीक्षामा सम्मिलित हुन सकेनन् । त्यसपछि अध्ययनको क्रमले पूर्णविराम लियो र व्यापार व्यवसाय एवं ठेक्कापट्टा तिर लागे ।

 हाल उनी ८३ वर्ष पुगेका छन् । यो उमेरमा पनि उनको स्मरण शक्ति कत्ति पनि कम भएको छैन । एक पछि अर्को घटना स्मरण गर्छन् । आँखाको ज्योति पनि कम भएको छैन । उनले यो उमेरमा पनि लेखपढ गर्न सक्छन् । बोल्नमा कम छैन् । धारा प्रवाह बोल्न सक्छन् । वि.स. २०५५ वैशाख अक्षय तृतीयाका दिन ब्रह्माकुमारी राजयोग केन्द्रको केन्द्रिय कार्यालय माउण्ट आबुमा गई दिक्षा लिनु भए पश्चात हाल सम्म नियमित रूपमा ध्यान साधना गर्दै आएका छन् । यसले जीवनमा थप उर्जा प्राप्त भएको उनी बताउँछन् । पाल्पा तानसेन भाषा कला, संस्कृति, साहित्य र शिक्षाको ऐतिहासिक भूमि हो । साहित्यको चार विधा मध्य नाटक विधाका लागि समेत पाल्पा तानसेन अग्रणी छ । रंगमञ्चमा उत्रेर नाटकको भूमिका निर्वाह गरी नाटकको व्यणपिकरण गर्ने पाल्पाली पुराना कलाकार बाँके हरिलाई वर्तमान समयमा सबैसमक्ष चिनाउने सानो प्रयास स्वरुप यो लेख तयार पारिएको हो । ओझेलमा परेका बाँके हरि जस्तै अन्य कलाकारहरुको समेत खोजीनीति हुनु जरुरी छ ।   

प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update