Shittalpati
काजीपौवामा शीत प्रशिक्षण र प्रतियोगिता

पाल्पा, जिल्लाको तानसेन नगरपालिका काजीपौवास्थित बाल ज्योति आधारभूत विद्यालयमा शीत प्रशिक्षण र प्रतियोगिता भएको छ । शीत काव्य समाज नेपालले शीत परिकल्पनाको तेस्रो वर्ष एवं स्थापनाको तेस्रो बार्षिक उत्सव समारोहको अवसरमा प्रशिक्षण र प्रतियोगिता आयोजना गरेको हो ।

प्रतियोगिताको एक औपचारिक कार्यक्रमको आयोजना गरी शुभारम्भ गरिएको छ । प्रतियोगिताको शीत काव्यका परिकल्पनाकार पुष्कर अथक रेग्मीले उद्घाटन गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहेका रेग्मीले शीतको विकास र विस्तारका लागि प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष गम्भीर रायमाझी, प्रधानाध्यापक विष्णुबहादुर थापा, शीत काव्य समाज नेपालका केन्द्रीय उपाध्यक्ष नारायण कोइराला लगायतले आ–आफ्नो धारणा राखेका थिए । प्रशिक्षणमा ४४ जना विद्यार्थीले भाग लिएका थिए । प्रशिक्षण पश्चात् भएको प्रतियोगितामा शीत लेखनमा विशाल कुमाल प्रथम, शीतल राना दोस्रो, सृष्टि दर्लामी तेस्रो र आशिष न्यौपाने सान्त्वना भएका छन् । विद्यार्थीहरूलाई नगद पुरस्कार र पुस्तक प्रदान गरिएको थियो । कार्यक्रम समाज पाल्पाकी अध्यक्ष शीत ईश्वर इन्दिरा ज्ञवाली, सचिव सुशील बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update