Shittalpati
भू–संरक्षणमा सबै सचेत बनौँ

आज अन्तराष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्वमा बढ्दो प्राकृतिक दोहन र त्यसबाट भूमिमा परिरहेको दवाव एवं त्यसले सिर्जना गरेको विपदलाई संरक्षण गर्ने ध्येयले यो दिवस मनाउन थालिएको हो ।  २०३१ साउन २४ गतेदेखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको पाइन्छ ।

भू–तथा जलाधार संरक्षण विभाग स्थापना भएको साउन २४ गतेलाई ‘भू–संरक्षण दिवस’ का रूपमा मनाउने गरिएको हो । तर हरेक वर्ष कार्यक्रम गरेर दिवस मनाउने गरिए पनि त्यसले सार्थकता प्राप्त गर्न सकेको छैन । वातावरणीय संवेदनशीलता, प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनको प्रभावका दृष्टिकोणले नेपाल उच्च जोखिममा छ । संवेदनशील भू–धरातलीय र भौगोलिक अवस्थिति तथा कमजोर भौगर्भिक बनावटका कारणले गर्दा मानवजन्य तथा प्राकृतिक प्रकोपका प्रभावबाट भारी मात्रामा धनजनको क्षति र वातावरणीय समस्या व्यहोर्नुपरेको छ । पहिरो र भू–स्खलनबाट नेपालका पहाडी तथा हिमाली क्षेत्रहरूले बर्सेनि ठूलो धनजनको क्षति भोगिरहेका छन् । तर हरेक वर्ष दिवसका दिन गरिने औपचारिक कार्यक्रमले कुनै सार्थकता पाउन सकिरहेको छैन् । यो अत्यन्त दुखको कुरा हो ।

बढ्दो सहरीकरण, अव्यवस्थित विकास, वन विनाश, रासायनिक मल तथा विषादीको अत्यधिक प्रयोग, खानी उत्खनन र जलवायु परिवर्तनका कारण माटोको गुणस्तर निरन्तर खस्कँदै गएको छ  । नेपाल कृषि प्रधान देश भए पनि यहाँका धेरै क्षेत्रमा माटो कटान, पहिरो, मरुभूमीकरणको जोखिम, उर्वराशक्तिको ह्रास र खेतीयोग्य जमिनको अनियन्त्रित खण्डीकरणजस्ता समस्या बढिरहेका छन् । प्रत्येक वर्ष ठूलो परिमाणमा उर्वर माटो बाढी र पहिरोले बगाएर लैजाने गरेको छ । यसले कृषि उत्पादन घटाउनुका साथै खाद्य सुरक्षामाथि पनि गम्भीर चुनौती सिर्जना गरेको छ । भूमि संरक्षण केवल किसानको मात्र जिम्मेवारी होइन, यो सम्पूर्ण समाजको साझा दायित्व हो । वैज्ञानिक खेती प्रणाली अपनाउने, वृक्षारोपण गर्ने, डाँडापाखामा टेरेस खेतीलाई प्रोत्साहन गर्ने, जैविक मलको प्रयोग बढाउने, पानीको उचित व्यवस्थापन गर्ने तथा अनियन्त्रित वन फँडानी रोक्ने जस्ता उपायले माटोको संरक्षण गर्न सकिन्छ । साथै, सरकारले भूमि संरक्षणसम्बन्धी नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्दै जनचेतना अभिवृद्धि गर्न आवश्यक छ । यो दिवस केवल औपचारिक कार्यक्रमको दिन होइन, यो पृथ्वीको आधारभूत सम्पत्ति जोगाउने सामूहिक प्रतिबद्धता व्यक्त गर्ने अवसर हो ।

स्वस्थ माटो बिना समृद्ध कृषि सम्भव छैन, र समृद्ध कृषि बिना दिगो विकासको कल्पना गर्न सकिँदैन । त्यसैले आजको आवश्यकता भूमि संरक्षणलाई विकासको केन्द्रमा राख्दै प्राकृतिक स्रोतको दिगो उपयोग गर्नु हो । माटो बचाउनु भनेको वर्तमान मात्र होइन, भावी पुस्ताको भविष्य सुरक्षित गर्नु पनि हो । अब समय आएको छ—भूमिलाई सम्मान गरौँ, माटो जोगाऔँ र समृद्ध भविष्य निर्माण गरौँ ।

प्रकाशित मिति: आइतबार, साउन २४, २०८३
प्रतिक्रिया दिनुहोस्
Weather Update